कास्की । स्वास्थ्य तथा मानवीय सेवाको क्षेत्रमा ख्यातिप्राप्त नेत्ररोग विशेषज्ञ डा. सन्दुक रुइतलाई यस वर्षको ‘श्रीपति समाजसेवा राष्ट्रिय पुरस्कार’ प्रदान गर्ने भएको छ । पोखरा महानगरपालिका-९ महेन्द्रपुलस्थित श्रीपति कोइराला गुठीले स्थापना गरेको सो पुरस्कार २१७औँ श्रीपति जयन्तीका अवसरमा रुइतलाई प्रदान गर्ने घोषणा गरिएको हो ।

 

विसं २०७७ मा शुरु गरिएको पुरस्कारको राशि २ लाख २२ हजार २२२ रुपैयाँ, श्रीपति समाजसेवा पदक र ताम्रपत्र रहेको छ । देश र जनताका लागि विपदमा उद्धार तथा राहत सहयोग, शिक्षा, संस्कृति, स्वास्थ्य सेवा, विज्ञान प्रविधि, सामाजिक जागरण, मानवीय सेवा र सामुदायिक विकासको क्षेत्रमा क्रियाशील व्यक्तित्व तथा संस्थालाई पुरस्कार प्रदान गरिँदै आएको श्रीपति कोइराला गुठीका सचिव नवराज कोइरालाले जानकारी दिए।

“मानवीय सेवाका क्षेत्रमा र विशेषगरी आँखा उपचारमा डा रुइतले गर्नुभएको योगदानको कदर गर्दै यस वर्षको पुरस्कार उहाँलाई प्रदान गर्ने निर्णय गुठीले गरेको हो”, कोइरालाले भने। गुठीले आगामी साधारणसभामा डा सन्दुकलाई पुरस्कार प्रदान गरिने जनाएको छ।

यसअघि यो पुरस्कारबाट माइती नेपाल, राष्ट्रिय आविष्कार केन्द्र, सर्लाहीको पद्‌म भवानी नमुना विद्याश्रम र पोखराको विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समिति पुरस्कृत भइसकेका छन्।

पोखराका श्रीपति कोइराला एक सरकारी उच्चपदस्थ कर्मचारी तथा समाजसेवी थिए। सरकारी जागिरकै सिलसिलामा विसं १९२६ मा उनको निधन भएको थियो।

(थाहा खबरबाट)