काठमाडौं । नेपाली कांग्रेस र नेकपा एमालेबिच मन्त्रालय भागबन्डा करिबकरिब टुङ्गिएको छ । कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीबिच आइतबार भएको समझदारीमा मन्त्रालय भागबन्डा टुङ्ग्याइएको हो ।

दुवै दलका नेताहरुका अनुसार कांग्रेसले ९ र एमालेले ८ मन्त्रालय सम्हाल्ने छन् । गृहसहित रक्षा, परराष्ट्र, ऊर्जा, जलस्रोत तथा सिँचाइ,स्वास्थ्य तथा जनसङ्ख्या, सहरी विकास, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, वन तथा वातावरण मन्त्रालय कांग्रेसको भागमा परेको बुझिएको छ ।

त्यसैगरी, अर्थसहित भौतिक पूर्वाधार तथा यातायात,सञ्चार तथा सूचना प्रविधि र शिक्षा मन्त्रालय, शिक्षा, उद्योग, वाणिज्य तथा आपूर्ति, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय पनि एमालेको भागमा परेको छ । बाँकी चार मन्त्रालय भने साना दलका लागि छुट्याइएको छ । साना दल जसपा, जसपा नेपाल,लोसपा, जनतम सरकारमा जाने तयारीमा छन् ।

एमालेका एक नेताका अनुसार यी मन्त्रालय भागबन्डामा दुवै दल सहमति भए पनि सरकारमा सहभागी हुने दल थपघट भएमा केही परिवर्तन हुनसक्ने बताएको छ । यससँगै नेपाली कांग्रेस र एमालेबाट मन्त्री हुनेको सुची तयार पार्न शीर्ष नेताहरू लागि परेका छन् ।

राष्ट्रपतिले आइतबार एमाले अध्यक्ष ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरिसकेको छ ।