उनले भने, ‘सम्भवतः १०-१५ वर्ष राम्रो र बलियो सरकारले शासन गरेमा रोजगारी र गरिबी लगायतका समस्या समाधान हुन सक्छ ।’ राम्रो सरकार भन्नाले घुस खाने नेताहरू नभएको पार्टीको शासनलाई बुझ्नुपर्ने उनले व्याख्या समेत गरे । भुसालले राजाले परम्पराका आधारमा घुस खान सिकेको हुनसक्ने समेत आकलन गरे ।
यसपछि नेपाली कांग्रेसले संस्थागत रुपमा राजासँग घुस खान सिकेको भुसालको भनाई छ । यस्तै नेकपा एमालेले कांग्रेससँगको संगतबाट घुस खान सिकेको उनको तर्क छ । ‘हामी एमाले बनेर कांग्रेससँग घुस खान सिक्यौँ,’ भुसालले भने, ‘हामी दुइटै मिलेर माओवादीलाई घुस खान सिकायौँ भन्ने लाग्छ ।’
उनका अनुसार माओवादीलाई कांग्रेस र एमालेले आफू अनुकूल नै बनाएको हो । मुलुकले दुःख पाउनुको कारण नै सिक्न नहुने विषय सिकेर घुस खानु भएको उनले बताए । ‘हामीले स्ट्रेचर नै यस्तो बनाएका छौँ, कि यसले राज्य दोहनबाहेक अन्य काम नै गर्दैन,’ भुसालले भने, ‘यही कारण हामी सबै मिलेर एउटा शक्तिशाली पार्टी बनाउन जरुरी छ ।’
