तेहरान । इरानका राष्ट्रपति इब्राहिम रायसी सवार हेलिकप्टर दुर्घटनास्थलमा जीवनको कुनै संकेत नभएको त्यहाँको सरकारी टेलिभिजनले जनाएको छ । राष्ट्रपति इब्राहिम राइसी जीवित रहने कुनै संकेत नभएको सरकारी टिभीले बताएको हो ।
एक इरानी अधिकारीलाई उद्धृत गर्दै रोयटर्सलेसमेत दुर्घटनामा हेलिकप्टर ‘पूर्ण रूपमा जलेको’ रिपोर्ट गरेको बिबिसीले उल्लेख गरेको छ। राष्ट्रपति सवार हेलिकप्टर दुर्घटनामा परेपछि खराब मौसमका कारण उद्धारमा समस्या भएपछि रुसले विशेष टोली पठाएको थियो । आइतबार खराब मौसमका कारण हेलिकप्टर दुर्घटनामा परेको बताइएको थियो ।
राष्ट्रपति सवार हेलिकप्टर पूर्वी अजरबैजानको पश्चिमी प्रान्त जोफा क्षेत्रमा दुर्घटना भएको थियो। खराब मौसमका कारण दुर्घटनापछिका अन्य विवरण प्राप्त हुन नसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका थिए। हेलिकप्टरमा विदेशमन्त्री होसेन अमीर अब्दुल्लाहियानसमेत रहेको बताइएको छ। ६३ वर्षीय रायसी आइतबार प्रान्तको भ्रमणमा गएको थियो। त्यहाँ उनले आफ्ना अजरबैजानी समकक्षी इल्हाम अलिएभसँग मिलेर दुई देशको सीमामा बाँध परियोजनाको उद्घाटन गरेको थियो।
राष्ट्रपतिको सवारीमा तीनवटा हेलिकप्टर सहभागी थिए। अन्य दुई हेलिकप्टर सुरक्षितरूपमा आफ्नो गन्तव्यमा पुगेको तस्निम समाचार एजेन्सीले जनाएको छ।

