बुटवल । नक्कली शैक्षिक प्रमाणपत्र बनाउने र बिक्री गर्ने कार्यमा संलग्न भएको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता हरिप्रसाद कँडेल पक्राउ परेका छन्।
चितवनको कालिका नगरपालिका-५ पदमपुर निवासी कँडेललाई रुपन्देही प्रहरीले बुधबार चितवनबाट पक्राउ गरी बुटवल ल्याएको हो। कँडेल रास्वपाको बागमती प्रदेश प्रशिक्षण विभाग संयोजक समेत रहेका छन्।
रुपन्देही प्रहरी प्रमुख एसपी प्रदीप क्षेत्रीका अनुसार कँडेलविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्र बनाएको आरोपमा अनुसन्धान सुरु गरिएको छ।
यसअघि गत साउन ३० गते रुपन्देहीको बेलहिया बसपार्कस्थित होटल मुक्तिनाथमा बस्न आएका भारतको कानपुर नौबस्तीका २५ वर्षीय अभिषेक यादवलाई विभिन्न शैक्षिक संस्थाका नक्कली प्रमाणपत्रसहित पक्राउ गरिएको थियो। यादवको बयानका आधारमा कँडेलमाथि संलग्नता देखिएपछि उनलाई नियन्त्रणमा लिइएको प्रहरीको भनाइ छ।
प्रहरीका अनुसार त्रिभुवन विश्वविद्यालयसहितका प्रमाणपत्र नक्कलीरुपमा तयार गरी बिक्री गर्ने कार्यमा उनीहरू संलग्न रहेको आशंका गरिएको छ। हाल दुबैजनामाथि विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


