अगस्ट 13, 2026
बागमती

रास्वपा बागमतीमा नयाँ नेतृत्वको खोजी, आजै निर्वाचन परिणाम आउने अपेक्षा

Advertisement Sound system

काठमाडौं — सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बागमती प्रदेश अधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मतदान सुरु भएको छ। शनिबार बिहान ११ बजेदेखि सुरु हुने भनिएको विद्युतीय मतदान केही ढिलो गरी सुरु भएको हो। पार्टीका अनुसार करिब १,३०० प्रतिनिधि मतदानमा सहभागी हुँदैछन् भने समायोजन विवादमा परेका ४०० प्रतिनिधिमध्ये २१० जनालाई मतदान गर्न अनुमति दिइएको छ। मतदानका लागि १५ वटा विद्युतीय बुथको व्यवस्था गरिएको छ।

बागमती प्रदेश सभापति पदका लागि डा. अच्युतम लामिछाने, उत्सव अर्याल, कृष्णमान श्रेष्ठ र हरिबहादुर खत्री प्रतिस्पर्धामा छन्। पार्टीभित्रका नेताहरूका अनुसार मुख्य प्रतिस्पर्धा वर्तमान सभापति डा. लामिछाने र वर्तमान प्रवक्ता अर्यालबीच हुने अपेक्षा गरिएको छ। दुवै पक्षले उपसभापति, महामन्त्री तथा अन्य पदका लागि आ–आफ्नो समूह तयार पारेको बताइएको छ।

निर्वाचन प्रक्रिया दुई चरणमा सञ्चालन हुनेछ। पहिलो चरणमा प्रदेश सभापति र प्रदेश समिति सदस्यहरूको निर्वाचन गरिनेछ भने दोस्रो चरणमा पदाधिकारीहरूको चयन हुनेछ। पार्टी विधानअनुसार बागमती प्रदेश समिति ६५ सदस्यीय रहनेछ। अधिवेशनबाट निर्वाचित हुने नयाँ नेतृत्वले प्रदेशमा रास्वपाको संगठन विस्तार र आगामी राजनीतिक रणनीति तय गर्ने जिम्मेवारी सम्हाल्नेछ।

जवाफ लेख्नुहोस्