काठमाडौं । फिफा विश्वकप फुटबल हेर्न अमेरिका प्रस्थान गर्ने तयारीमा रहेका अखिल नेपाल फुटबल संघ (एन्फा) अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राईलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फर्काइएको छ । अध्यागमन अधिकारीहरूले उनीहरूलाई बिहानै विमानस्थलबाट रोक लगाएर फर्काइदिएको बताएका छन् ।
अध्यागमन स्रोतका अनुसार दुवै जना कालोसूची (ब्ल्याक लिस्ट) मा रहेकाले उनीहरूको विदेश यात्रा रोकिएको हो । उनीहरू आज बिहान मेक्सिको हुँदै अमेरिका जाने तयारीमा रहेका थिए । तर अध्यागमनले आवश्यक प्रक्रिया पूरा नभएको भन्दै उनीहरूलाई प्रस्थान अनुमति दिएन ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका एक अधिकारीले उनीहरूलाई कानुनी कारणले रोकिएको पुष्टि गरेका छन् । उनका अनुसार, “उहाँहरू ब्ल्याक लिस्टमा रहेकाले आज बिहान विमानस्थलबाट फर्काइएका हौँ” भन्ने प्रतिक्रिया दिइएको छ ।
यसअघि आर्थिक अनियमिततासम्बन्धी छानबिनका लागि राष्ट्रिय खेलकुद परिषद (राखेप)को सिफारिसमा अध्यागमन विभागले एन्फाका सबै पदाधिकारीलाई विदेश यात्रा गर्न रोक लगाएको थियो । रोक फुकुवा गराउन एन्फा नेतृत्वले प्रयास गरे पनि राखेपले अनुमति नदिएपछि उनीहरूको विदेश यात्रा सम्भव हुन सकेको छैन ।


