अगस्ट 25, 2026
राष्ट्रिय

काठमाडौं प्रशासनले एमाले निकट युवा संघको र्‍याली र सभा गर्न रोक लगायो

Advertisement Sound system

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले नेकपा (एमाले) सम्बद्ध युवा संघ नेपाललाई काठमाडौंमा आयोजना गर्न लागिएको मोटरसाइकल र्‍याली र सभा गर्न रोक लगाएको छ।

युवा संघले असोज २५ गते काठमाडौंको तीनकुनेबाट मोटरसाइकल र्‍याली निकाल्ने कार्यक्रम सार्वजनिक गरेको थियो। तर प्रशासनले सुरक्षा संवेदनशीलता र सार्वजनिक शान्तिको कारण देखाउँदै त्यस्तो गतिविधि नगर्न निर्देशन दिएको हो।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सीडीओ) ईश्वरराज पौडेलले शुक्रबार जारी सूचनामा कुनै पनि समूह वा संगठनलाई र्‍याली, जुलुस, सभा वा प्रदर्शनका कार्यक्रम गर्न अनुमति नदिइएको जनाएका छन्।

सूचनामा भनिएको छ, “विभिन्न समूहहरूबाट हुने भनिएका र्‍याली, जुलुस, धर्ना, सभा तथा प्रदर्शन जस्ता गतिविधिहरूले सुरक्षा चुनौती बढाउन सक्ने र आम नागरिकको सुरक्षाको प्रत्याभूति दिने कार्यमा थप जटिलता सिर्जना गर्न सक्ने देखिएकाले त्यस प्रकारका कार्यक्रम गर्न स्वीकृति प्रदान नगर्ने निर्णय गरिएको छ।”

प्रशासनले कुनै पनि र्‍याली वा प्रदर्शन गर्नुअघि पूर्वस्वीकृति लिनुपर्ने स्पष्ट उल्लेख गर्दै बिना अनुमति कार्यक्रम नगर्न सबै पक्षलाई आग्रह गरेको छ।

युवा संघका अध्यक्ष क्षितिज थेबेले बिहीबार असोज २५ गते तीनकुनेबाट मोटरसाइकल र्‍याली निकाल्ने सूचना सार्वजनिक गरेका थिए।

 

जवाफ लेख्नुहोस्