काठमाडौं । आगामी आर्थिक वर्षका लागि अर्थ मन्त्रालयले विविध शीर्षकअन्तर्गत ९० अर्ब ३० करोड ९५ लाख रुपैयाँ अबण्डा बजेट छुट्याएपछि यसको औचित्य र पारदर्शितामाथि व्यापक प्रश्न उठेको छ। यो रकम चालु आर्थिक वर्षको संशोधित अनुमानभन्दा धेरै गुणा बढी भएकाले संसददेखि नीति वृत्तसम्म चासो बढेको छ।
सत्तारुढ दलकै सांसदहरूले यति ठूलो रकम अबण्डामा राख्दा बजेटको दुरुपयोग हुन सक्ने आशंका व्यक्त गरेका छन्। संसदमा उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आकस्मिक आवश्यकता तथा नयाँ मन्त्रालयका कार्यक्रम समेट्न नसकिएकाले यस्तो व्यवस्था गरिएको बताएका छन्।
यद्यपि, राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष तथा सांसद डा. पुष्पराज कँडेलले ठूलो आकारको अबण्डा बजेटले सरकारलाई तजविजी रूपमा खर्च गर्ने अधिकार बढाउने र बजेट कार्यान्वयनको पारदर्शितामाथि गम्भीर प्रश्न खडा गर्ने टिप्पणी गरेका छन्।


