पेनाल्टी बचाएको नाइलान्ड र दुई गोल गरेका हालान्ड नर्वेको ऐतिहासिक जितका नायक बने।
एर्लिङ हालान्डको उत्कृष्ट प्रदर्शनमा नर्वेले पाँच पटकको विश्व विजेता ब्राजिललाई २–१ ले पराजित गर्दै फिफा विश्वकप २०२६ को क्वाटरफाइनलमा ऐतिहासिक स्थान बनाएको छ।
राउन्ड अफ १६ अन्तर्गत भएको प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। सुरुआतदेखि नै बल नियन्त्रणमा राखेको ब्राजिलले केही राम्रो अवसर सिर्जना गरे पनि नर्वेका गोलरक्षकको उत्कृष्ट प्रदर्शनका कारण अग्रता लिन सकेन।

दोस्रो हाफमा नर्वेले आफ्नो लय समात्यो। ७९औं मिनेटमा कप्तान एर्लिङ हालान्डले हेडमार्फत गोल गर्दै नर्वेलाई अग्रता दिलाए। त्यसपछि खेलको अन्त्यतिर उनले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई २–० को बलियो अवस्थामा पुर्याए।इन्जुरी समयमा ब्राजिलले पेनाल्टीको अवसर पायो। नेयमारले त्यसलाई गोलमा परिणत गर्दै अन्तर २–१ मा झारे पनि त्यसपछि थप गोल गर्न नसक्दा ब्राजिलको विश्वकप यात्रा अन्त्य भयो।

यो जितसँगै नर्वे इतिहासमै पहिलो पटक विश्वकपको क्वाटरफाइनलमा पुगेको छ। एर्लिङ हालान्ड खेलका नायक बने भने नर्वेको अनुशासित र संगठित प्रदर्शनले ब्राजिलजस्तो बलियो टोलीलाई प्रतियोगिताबाट बाहिरिन बाध्य बनायो।ब्राजिलका लागि यो हार ठूलो निराशा बनेको छ। उपाधिको दाबेदार मानिएको टोली अन्तिम १६ मै रोकिँदा समर्थकहरू स्तब्ध बनेका छन्। अब नर्वेले सेमिफाइनल प्रवेशका लागि क्वाटरफाइनलमा मेक्सिको र इंग्ल्यान्डबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।


