काठमाडौं । बुढानीलकण्ठ नगरपालिकाका १३ वटै वडामा सांगीतिक कार्यक्रम आयोजना हुने भएको छ। स्थानीय बासिन्दालाई मनोरञ्जनसँगै आपसी एकता र सामाजिक सद्भावमा जोड्ने उद्देश्यले फटाफट मिस्त्री प्रालिले नगरका सबै वडालाई समेटेर लाइभ कन्सर्ट आयोजना गर्न लागेको हो।
‘मेहनतले बनाऔँ बुढानीलकण्ठ, मनोरञ्जनले जोडौँ एकता’ भन्ने अवधारणासहित अघि बढाइएको यस सांगीतिक अभियानको आयोजना सुरेश तामाङ र प्रदीप मैनालीले गरेका हुन्। कार्यक्रममार्फत नगरका विभिन्न वडाका बासिन्दालाई एउटै सांगीतिक उत्सवमा सहभागी गराउने लक्ष्य राखिएको छ।
कन्सर्टमा त्रिकोण ब्यान्डले सांगीतिक प्रस्तुति दिनेछ। ब्यान्डले आफ्ना गीत तथा संगीतमार्फत दर्शकलाई मनोरञ्जन प्रदान गर्नेछ। कार्यक्रमलाई व्यवस्थित र आकर्षक बनाउन चन्द्र विनायक साउन्ड एन्ड लाइट्स सिस्टमले ध्वनि, प्रकाश तथा एलईडी स्क्रिनको व्यवस्थापन गर्नेछ।
बुढानीलकण्ठका १३ वटै वडामा कार्यक्रम सञ्चालन गरिने भए पनि कुन वडामा कुन मितिमा कन्सर्ट आयोजना हुने भन्ने विस्तृत तालिका सार्वजनिक हुन बाँकी छ।
पछिल्लो समय स्थानीयस्तरमा सांस्कृतिक तथा मनोरञ्जनात्मक गतिविधिको आवश्यकता बढिरहेका बेला आयोजना हुन लागेको यस कार्यक्रमले नगरवासीलाई आफ्नै क्षेत्रमा सांगीतिक मनोरञ्जन लिने अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ।
कार्यक्रम केवल सांगीतिक प्रस्तुतिमा सीमित नरही नगरका विभिन्न वडाका बासिन्दाबीच भेटघाट, आपसी सम्बन्ध र सामाजिक एकता अभिवृद्धि गर्ने माध्यम बन्ने आयोजकको उद्देश्य रहेको छ। मेहनत र मनोरञ्जनलाई सँगसँगै अघि बढाउँदै बुढानीलकण्ठलाई थप सक्रिय र एकताबद्ध बनाउने अभियानका रूपमा यसलाई हेरिएको छ।



