काठमाडौँ । महाराजगञ्जस्थित निवासबाट आइतबार बिहान प्रहरीले नियन्त्रणमा लिएका पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई आफन्तको जिम्मा लगाएर पठाइएको छ। प्रहरीले जबरालाई घरमै सुरक्षा दिने जनाएको छ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रामेश्वर कार्कीले जबरालाई आफन्तको जिम्मा लगाइएको जानकारी दिएका हुन्। उनले जबराको सुरक्षाका लागि घरमै सुरक्षा व्यवस्था मिलाइने बताए।
‘घरमै सुरक्षा दिन्छौं,’ एसपी कार्कीले भने।
बिहान ३ बजे निवासबाट नियन्त्रणमा
आइतबार बिहान करिब ३ बजे जबरा र उनका परिवारका सदस्यहरू सुतिरहेको समयमा प्रहरी महाराजगञ्जस्थित उनको निवासमा पुगेको थियो। त्यसपछि प्रहरीले जबरालाई नियन्त्रणमा लिएको थियो।
प्रहरी अधिकारीहरूले जबरामाथि सुरक्षा खतरा रहेको बताएका थिए। तर जबराले आफूलाई त्यस्तो कुनै सुरक्षा खतराबारे जानकारी नभएको बताएका थिए। उनले घरमै थप सुरक्षाकर्मी खटाइदिन प्रहरीसँग आग्रहसमेत गरेका थिए।
नियन्त्रणमा लिनुको कारण अझै अस्पष्ट
प्रहरीले जबरालाई औपचारिक रूपमा पक्राउ गरेको हो वा सुरक्षाका लागि नियन्त्रणमा लिएको हो भन्ने विषयमा स्पष्ट पारेको छैन।
सुरुमा प्रहरीले उनलाई नियन्त्रणमा लिइएको पुष्टि गरेको थियो। पछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले सुरक्षा चुनौतीका कारण उनलाई सुरक्षित स्थानमा लगिएको जनाएको थियो।
तर प्रहरीले जबरामाथि कस्तो सुरक्षा चुनौती थियो, कसबाट वा केबाट खतरा थियो र उनलाई निवासबाटै नियन्त्रणमा लिनुपर्ने अवस्था किन आयो भन्नेबारे विस्तृत जानकारी सार्वजनिक गरेको छैन।
त्यस्तै, जबराविरुद्ध कुनै आपराधिक अनुसन्धान वा मुद्दा अघि बढाइएको छ कि छैन भन्ने विषय पनि स्पष्ट भएको छैन।


