अक्टोबर 25, 2026
राष्ट्रिय

लगातारको झरीले पहाडी क्षेत्रमा पहिरोको उच्च जोखिम

Summary

  • लगातारको झरीका कारण नेपालका पहाडी क्षेत्रमा पहिरोको उच्च जोखिम बढेको छ।
  • मौसमविद्का अनुसार मनसुनी र पश्चिमी वायुको संयुक्त प्रभावले विभिन्न प्रदेशमा भारी वर्षा भइरहेको छ।
  • नदी तथा खोला किनारमा बस्ने नागरिक र पहाडी क्षेत्रमा यात्रा गर्नेहरूलाई विशेष सावधानी अपनाउन आग्रह गरिएको छ।

काठमाडौं । देशका अधिकांश क्षेत्रमा लगातार वर्षा भइरहेका कारण पहाडी क्षेत्रमा पहिरोको उच्च जोखिम बढेको छ। मनसुनी र पश्चिमी वायुको संयुक्त प्रभावका कारण कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश क्षेत्रमा हल्कादेखि भारी वर्षा भइरहेको मौसमविद्हरूले बताएका छन्।

मौसमविद् रोजन लामिछानेका अनुसार भारतको ओडिसा, विशाखापट्टनम र आन्ध्र प्रदेश आसपास विकसित भएको न्यून चापीय प्रणालीका कारण बंगालको खाडीबाट जलवाष्पयुक्त हावा नेपालतर्फ प्रवेश गरिरहेको छ। पश्चिमी वायुको समेत प्रभाव रहेकाले देशका विभिन्न भागमा वर्षा भइरहेको हो।

पछिल्लो २४ घण्टामा पूर्वी तथा मध्य नेपालका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा भएको छ। लुम्बिनी प्रदेशका पाल्पा, अर्घाखाँची र कपिलवस्तु आसपासका क्षेत्रमा भने भारी वर्षा मापन भएको छ। पाल्पाका केही स्थानमा २४ घण्टामै १६० मिलिमिटरभन्दा बढी वर्षा भएको बताइएको छ।

पहाडी क्षेत्रमा पहिरोको जोखिम उच्च

लगातार दुई–तीन दिनसम्म वर्षा भइरहँदा कमजोर भौगर्भिक बनावट भएका पहाडी क्षेत्रमा पहिरोको उच्च जोखिम रहने मौसमविद्हरूले बताएका छन्। विशेषगरी पहिरो प्रभावित क्षेत्र, भिरालो जमिन तथा कमजोर भू–भागमा बसोबास गर्ने नागरिकले थप सावधानी अपनाउनुपर्ने अवस्था छ।

त्यस्तै, नदी तथा खोला किनारमा बसोबास गर्ने नागरिकलाई पनि सतर्क रहन आग्रह गरिएको छ। लगातारको वर्षाका कारण नदी तथा खोलामा पानीको सतह बढ्न सक्ने भएकाले बाढी तथा डुबानको जोखिमसमेत बढ्न सक्छ।

असोज ८ देखि ११ गतेसम्म वर्षाको प्रभाव

पूर्वानुमानअनुसार असोज ८ र ९ गते कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश स्थानमा हल्कादेखि मध्यम तथा केही स्थानमा भारी वर्षा हुने सम्भावना छ। शुक्रबारसम्म वर्षाको प्रभाव कर्णाली र सुदूरपश्चिम प्रदेशतर्फ पनि फैलिन सक्ने बताइएको छ।

असोज १० गतेदेखि पूर्वी क्षेत्रमा वर्षा केही घट्ने भए पनि कर्णाली, सुदूरपश्चिम र लुम्बिनीका पश्चिमी भागमा वर्षाको प्रभाव बढ्न सक्ने अनुमान गरिएको छ। असोज ११ गतेपछि भने मौसमी प्रणाली क्रमशः कमजोर हुँदै जाने र वर्षा घट्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन्।

पहाडी तथा हिमाली क्षेत्रमा विशेष सावधानी

मौसम प्रतिकूल रहेकाले पहाडी तथा उच्च हिमाली क्षेत्रमा यात्रा गर्ने पर्यटकलाई पनि सावधानी अपनाउन आग्रह गरिएको छ। मौसम सामान्य नभएसम्म जोखिमयुक्त स्थानमा यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न सुझाव दिइएको छ।

जवाफ लेख्नुहोस्