काठमाडौं। काठमाडौंमा लागूऔषध कारोबारीमाथि प्रहरीले गोली प्रहार गरेको छ। आइतबार दिउँसो करिब ४:१५ बजे टेकु दोवानपुल नजिक लागूऔषध नियन्त्रण ब्यूरोको टोलीले कारबाही गर्दै तीन जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१७ का १९ वर्षीय निखिल सोनी, सुर्खेतको पञ्चपुरी नगरपालिका–५ का १९ वर्षीया शोफिया मगर र भारतको उत्तर प्रदेशस्थित रुपैडियाका २५ वर्षीय राज सोनी रहेका छन्।
प्रहरीको गोली लागेर राज सोनी घाइते भएका छन्। ब्यूरोका डीएसपी जीवन निरौलाका अनुसार उनको दायाँ खुट्टाको घुँडामा र बायाँ खुट्टाको घुँडामुनि गोली लागेको छ। घाइते सोनीको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको लागूऔषध नियन्त्रण ब्यूरोले जनाएको छ।


