काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को स्वकीय सचिवालयमा हाल २७ जना नियुक्त भएको विवरण सार्वजनिक भएको छ। प्रधानमन्त्रीको सचिवालयका लागि कुल ४८ जनाको दरबन्दी रहे पनि हालसम्म २७ जनाले मात्रै जिम्मेवारी सम्हालेका हुन्।
यो जानकारी नेपाली कांग्रेसकी सांसद सीता थपलिया ‘उर्मिला’ ले प्रतिनिधिसभामा उठाएको प्रश्नको लिखित जवाफमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव पुष्कर सापकोटा ले दिएका हुन्।
लिखित जवाफअनुसार प्रधानमन्त्रीको सचिवालयमा मन्त्रीसरहको सुविधा पाउने दुई जना (मुख्य सल्लाहकार र राजनीतिक सल्लाहकार) तथा राज्यमन्त्रीसरहको सुविधा पाउने दुई जना (नीति, प्रशासन तथा सुशासन सल्लाहकार तथा सूचना तथा सञ्चार प्रविधि सल्लाहकार) नियुक्त भएका छन्। साथै, एक जना अवैतनिक स्वास्थ्य सल्लाहकार पनि कार्यरत छन्।
सरकारले यी नियुक्तिहरू ‘प्रधानमन्त्रीको सल्लाहकार तथा सचिवालय व्यवस्थापन कार्यविधि, २०७४’ अनुसार गरिएको जनाएको छ।
जवाफमा मन्त्रीहरूको सचिवालय सम्बन्धी व्यवस्थासमेत स्पष्ट गरिएको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ, पूर्वाधार विकास तथा कृषि, वन तथा पर्यावरण मन्त्रालयका मन्त्रीहरूले विशिष्ट श्रेणी सरहका एक जना वैतनिकसहित बढीमा पाँच जना सल्लाहकार राख्न सक्ने व्यवस्था छ। अन्य मन्त्रालयका मन्त्रीहरूले भने विशिष्ट श्रेणी सरहका एक जना वैतनिकसहित बढीमा तीन जना सल्लाहकार नियुक्त गर्न पाउने उल्लेख गरिएको छ।
त्यसैगरी, उपप्रधानमन्त्री, मन्त्री र राज्यमन्त्रीको स्वकीय सचिवालयमा ९/९ जनाको दरबन्दी रहेको जानकारी पनि दिइएको छ। उपप्रधानमन्त्रीले राजपत्राङ्कित प्रथम श्रेणी सरहका प्रमुख स्वकीय सचिव तथा मन्त्री/राज्यमन्त्रीले राजपत्राङ्कित द्वितीय श्रेणी सरहका प्रमुख स्वकीय सचिव राख्न पाउने व्यवस्था छ।
यस बाहेक प्रत्येक मन्त्रीको सचिवालयमा स्वकीय सचिव, समन्वय तथा अनुगमन अधिकृत, सञ्चार तथा जनसम्पर्क सहायक, सहायक कर्मचारी, सवारी चालक र कार्यालय सहयोगीसहित आवश्यक जनशक्ति रहने तथा उनीहरूले कानुनबमोजिम सम्बन्धित श्रेणीसरहको सेवा–सुविधा पाउने व्यवस्था रहेको सचिव सापकोटाले उल्लेख गरेका छन्।


