सेप्टेम्बर 5, 2026
मुद्धा मामिला

पूर्वसभामुख सापकोटाको मुद्दामा सर्‍यो फैसला सुनाइने मिति

काठमाडौं । पूर्वसभामुख एवम् नेकपा माओवादी केन्द्रका प्रवक्ता अग्नि सापकोटा विरुद्धको मुद्दामा फैसला सुनाउने मिति सरेको छ।  संवैधानिक इजलासले बुधबार उक्त मुद्दाको फैसला सुनाउने मिति तोकिए पनि एक न्यायाधीश अनुपस्थित भएपछि मिति सरेको हो ।

काभ्रेका अर्जुन लामाको हत्या आरोपमा कर्तव्य ज्यान मुद्दामा अनुसन्धान माग गर्दै दायर भएको रिटमा जेठ २३ गते बहस सकिएर निसु तोकिएको थियो । सर्वोच्च अदालतको संवैधानिक इजालसले दुवै पक्षको बहसपछि बुधबार निर्णय सुनाउने भनी मिति तोकिए पनि वरिष्ठतम न्यायाधीश प्रकाशमान सिंह राउत नभएपछि फैसला हुन नसकेको हो ।

सर्वोच्च प्रशासनका अनुसार राउत अदालत निरीक्षणका क्रममा बागलुङ पुगेको छ । उनी आइतबार मात्र फर्किने भएकाले आजको मुद्दा सर्वोच्च प्रशासनले स्थगितको सूचीमा पेशी प्रकाशित गरेको थियो । अब सर्वोच्चले संवैधानिक इजलास बस्ने दिन पेशी तोक्ने छ । बुधबार र शुक्रबारमध्ये एक दिन उक्त मुद्दाको निसु तोकिने छ । सो मुद्दामा प्रधानन्यायाधीशसहित पाँच न्यायाधीशको इजलासले बहस सुनेर फैसला सुनाउने तयारी गरेको छ ।

गत जेठ २३ गते प्रधानन्यायाधीश श्रेष्ठ, प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल, प्रकाशकुमार ढुंगाना र कुमार रेग्मी रहेको संवैधानिक इजलासले सुनुवाइ सकेर निर्णय सुनाउने मिति असार १२ गते तोकेको थियो । राउत उपस्थित नभएपछि बुधबार विश्वम्भरप्रसाद श्रेष्ठ, सपना प्रधान मल्ल, प्रकाशकुमार ढुंगाना, कुमार रेग्मी र मनोजकुमार शर्मा भएको बेग्लै इजलास गठन भएर अन्य मुद्दाको सुनुवाइ  भएका थिए । २०६९ मङ्सिरमा काभ्रेका अर्जुन लामाको हत्या आरोपमा सापकोटासहितका नेताहरूमाथि अनुसन्धान हुनुपर्ने भन्दै उनकी श्रीमती पूर्णिमाया लामाले सर्वोच्चमा रिट दायर गरेकी थिइन्। सर्वोच्चमा तीन थान रिट निवेदन रहेका छन् ।

सर्वोच्चले फैसला गर्दै अनुसन्धान अघि बढाउनु र सापकोटालाई पक्राउ गर्न आदेश दिनुपर्ने माग निवेदकले उठाएका छन् भने प्रतिवादीहरूले यो घटना द्वन्द्वकालीन भएकाले संक्रमणकालीन न्यायसम्बन्धी संयन्त्रले हेर्नुपर्ने माग गरेका थिए । इजलासले दुवैको तर्क सुनेर फैसला सुनाउने छ।

जवाफ लेख्नुहोस्