काठमाडौं । तत्कालीन गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सुधन गुरुङमाथि गठन गरिएको छानबिन समितिले उनको सम्पत्ति अस्वाभाविक नरहेको निष्कर्ष निकालेको छ । प्रधानमन्त्रीसमक्ष बुझाइएको प्रतिवेदनमा गुरुङको सम्पत्तिको स्रोत खुलेको उल्लेख गर्दै सुन पैतृक सम्पत्ति भएको र सेयर खरिदका लागि ऋण लिएको विवरण पुष्टि गरिएको जनाइएको छ । समितिले व्यक्तिगत रूपमा ठूलो कमजोरी नभेटिएको भन्दै प्रणालीगत सुधार आवश्यक रहेको औंल्याएको छ ।
समितिका अनुसार गुरुङको नाममा धनकुटाबाहेक अन्यत्र जग्गा फेला परेको छैन । उनले सम्पत्ति विवरणमा उल्लेख गरेका चितवन, गोरखा लगायतका धेरैजसो जग्गा बुवा र हजुरबुवाको नाममा रहेको देखिएको छ । मालपोत कार्यालयबाट समेत विवरण झिकाएर गरिएको अध्ययनपछि परिवारको संयुक्त सम्पत्तिलाई समेत विवरणमा समावेश गर्दा विवरणमा फरक देखिएको निष्कर्ष निकालिएको हो ।
सम्पत्ति विवादपछि ९ वैशाखमा राजीनामा दिएका गुरुङ छानबिनबाट सफाइ पाएसँगै पुनः सरकारमा फर्किने सम्भावना बढेको चर्चा सुरु भएको छ । प्रतिवेदन सार्वजनिक भएसँगै रास्वपाभित्र पनि गुरुङको पुनरागमनबारे छलफल तीव्र बनेको स्रोतहरूले बताएका छन् ।


