काठमाडौँ । भारतको उत्तर प्रदेशमा तीन दिनदेखिको भारी वर्षापछि आएको बाढीमा परी कम्तीमा ६२ जनाको मृत्यु भएको छ भने ४६ जना घाइते भएका छन्। बाढीका कारण एक हजारभन्दा बढी घरमा क्षति पुगेको राज्य सरकारले सोमबार जनाएको छ।
बाढीका कारण राजधानी लखनऊसहित विभिन्न क्षेत्रमा विद्यालय बन्द गरिएको छ। उद्धार टोलीले प्रभावित क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सारिरहेको छ।
स्थानीय प्रशासनले जलमग्न क्षेत्रमा अनावश्यक यात्रा नगर्न र तीव्र गतिमा बग्ने नदी, खोला तथा नालाबाट टाढा रहन सर्वसाधारणलाई आग्रह गरेको छ।
मौसम विज्ञान केन्द्रका वरिष्ठ वैज्ञानिक अतुल कुमार सिंहका अनुसार बङ्गालको खाडीमा विकसित मौसम प्रणाली कमजोर हुँदै गएकाले सोमबारदेखि वर्षा कम हुने अपेक्षा गरिएको छ। यद्यपि, मङ्गलबारसम्म पूर्वी र पश्चिमी उत्तर प्रदेशमा हल्का वर्षा हुन सक्नेछ।
यसैबीच, भारतको ओडिसा राज्यमा पनि बाढीको प्रभाव परेको छ। त्यहाँ ७५ हजारभन्दा बढी मानिसलाई बाढी प्रभावित क्षेत्रबाट सुरक्षित स्थानमा सारिएको अधिकारीहरूले बताएका छन्।


