अक्टोबर 25, 2026
अन्तर्राष्ट्रिय

हवाई हमलामा हमासका सैन्य प्रमुख मोहम्मद दिएफ मारिएको इजरायलको दाबी

एजेन्सी । गाजाक्षेत्रमा इजरायलले गरेको हवाई हमलामा परी विद्रोही समूहका सैन्य कमान्डर मोहम्मद दिएफ मारिएको दाबी इजरायलले गरेको छ ।

इजरायली सेनाले बताएका अनुसार हमासका सैन्य प्रमुख मोहम्मद दिएफ १३ जुलाईमा गाजामा भएको एक एयर स्ट्राइकका क्रममा मारिएका हुन् । स्ट्राइकका क्रममा दिएफलाई खान युनुसको एक कम्पाउन्डमा इजरायली सेनाले निशाना बनाएको थियो ।

इजरायली सेनाले त्यसबेलै हवाई हमलामा एक अर्का हमास कमान्डर राफा सलेमेह पनि मारिएको जनाएको थियो । तर इजरायली सेनाले मोहम्मद दिएफको मृत्यु भएको पुष्टि गरेको थिएन ।

यसअघि बुधबार मात्रै हमासले आफ्ना शीर्ष राजनीतिक कमान्डर इस्माइल हनियाको इरानको राजधानी तेहरानस्थित निवासमा भएको हवाई हमलामा मारिएको जनाएको थियो ।

बुधबार जारी एक विज्ञप्तिमा हमासले तेहरानस्थित निवासमा भएको हवाई हमलामा हनिया र उनका सुरक्षागार्डको हत्या भएको जनाएको थियो । हनिया लामो समयदेखि कतारमा बस्दै आएका थिए । उनी केही वर्षदेखि गाजामा गएका थिएनन् । तर कतारबाट इरान पुगेका बेला उनी मारिए ।

इराले हनियाको हत्या अमेरिकाले गरेको दाबी गरिरहेको छ । हमासले हनिया इरानी राष्ट्रपति मसुद पेजेश्कियानको शपथ ग्रहण समारोहमा भाग लिन तेहरान पुगेको जनाएको छ । उक्त समारोह मंगलबार भएको थियो। उक्त समारोहमा भाग लिएकै भोलिपल्ट हनिया मारिँदा हमासलाई ठूलो धक्का लागेको छ ।

जवाफ लेख्नुहोस्