काठमाडौं । सशस्त्र प्रहरी बल नेपालमा गोताखोरको संख्या ११० पुगेको छ । सशस्त्र प्रहरी बल नेपाल विपत् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारमा सञ्चालित सि.सं ५ गोताखोर तालिम बिहीबार १९ जनाले सम्पन्न गरेपश्चात् गोताखोर थपिएको हो ।

बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठले तालिम समापन गर्दै प्रथम भएका प्रशिक्षार्थी सशस्त्र प्रहरी जवान वीरेन्द्र कार्कीलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरे । कार्यक्रममा बोल्दै उनले मनसुनजन्य विपत् सुरु भइसकेको अवस्थालाई ध्यानमा राखी सशस्त्र प्रहरी कर्मचारीहरूले तालिममा सिकेको ज्ञान, कला र कौशललाई प्रयोग गरी कार्यक्षेत्रमा परिस्थितिअनुरूप परिचालित हुनुपर्ने बताए ।

 

सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज दाहालले संगठनलाई प्राप्त जिम्मेवारीहरूमध्ये विपत् व्यवस्थापन पनि महत्वपूर्ण जिम्मेवारी रहेको चर्चा गर्दै यस तालिम शिक्षालयले विपत् व्यवस्थापनसम्बन्धी दक्ष जनशक्ति उत्पादन गरी देशका विभिन्न भू-भागहरूमा घटेका विपत्का घटनाहरूमा सक्रिय भई खोज तथा उद्धार कार्य गरिरहेको बताए ।

पाँच हप्ता अवधिको उक्त तालिममा १९ जना सशस्त्र प्रहरी कर्मचारीहरू सहभागी रहेका थिए । तालिमको दौरानमा प्रशिक्षार्थीहरूलाई चितवनको कुरिनटारस्थित त्रिशूली नदी, कास्कीको पोखरास्थित फेवाताल र सुनसरीस्थित कोशी नदीमा अभ्यास गराइएको सशस्त्र प्रहरी बलले जनाएको छ । हाल मनजुनजन्य विपत्का घटना बढेसँगै हालै तालिम गरेका गोताखोरलाई विभिन्न जिल्लामा खटाउने सशस्त्र प्रहरीको तयारी छ ।