काठमाडौँ । तार्केश्वर नगरपालिकामा भएको सवारी दुर्घटनामा परी प्रहरी निरीक्षक (इन्स्पेक्टर) अभय लामाको मृत्यु भएको छ। चैत २९ गते डाँडागाउँमा उनले चलाएको बागमती प्रदेश–०२–०२९ प ९४१५ नम्बरको मोटरसाइकललाई बागमती प्रदेश–०३–००१ ख १७१५ नम्बरको ट्रकले ठक्कर दिएको थियो।

दुर्घटनापछि गम्भीर घाइते भएका लामालाई उपचारका लागि बिएण्डबी अस्पताल लगिएको थियो। उपचारकै क्रममा उनको निधन भएको प्रहरीले जनाएको छ। उनी उपत्यका ट्राफिक प्रहरी कार्यालयमा कार्यरत थिए।

जापानमा रहेका उनका परिवारका सदस्य आउन ढिला भएपछि शुक्रबार स्वयम्भूमा उनको दाहसंस्कार गरिएको छ। दाहसंस्कार कार्यक्रममा गृहमन्त्री सुधन गुरुङ सहभागी भई लामाको शव बोकेर अन्तिम श्रद्धाञ्जली व्यक्त गरेका थिए। सहकर्मीहरूले लामालाई कर्तव्यनिष्ठ र इमानदार प्रहरी अधिकृतका रूपमा स्मरण गरेका छन्।