काठमाडौं । जेनजी आन्दोलनका नाममा विभिन्न सरकारी कार्यालयमा गएर कर्मचारी र पदाधिकारीलाई थर्काउने व्यक्तिमाथि सरकारले निगरानी बढाएको छ।
बुधबार सञ्चारकर्मीसँग कुरा गर्दै गृहमन्त्री ओमप्रकाश अर्यालले जेनजीको नाममा सरकारी कामकाजमा अवरोध पुर्याउने वा धम्क्याउने गतिविधि गर्नेलाई सरकारले कडाइका साथ नियन्त्रणमा लिने चेतावनी दिएका छन्।
गृहमन्त्री अर्यालले भने, “जेनजीको बिद्रोह सुशासनका लागि हो। यसको नाममा कसैले गलत कार्य गर्छ भने त्यो सुशासनविरोधी गतिविधि हो। सरकारले त्यस्ता क्रियाकलापमाथि निगरानी गरिरहेको छ र आवश्यक परे नियन्त्रणमा लिनेछ।”
उनले अधिकार नभएको व्यक्तिले कुनै कार्यालयमा गएर कर्मचारीलाई धम्क्याउने, दबाब दिने वा हप्क्याउने छुट कसैलाई नहुने स्पष्ट पारे।
“सुशासन भनेको विधिको शासनबाट सुरु हुन्छ,” मन्त्री अर्यालले भने, “सबैले कानुनको दायराभित्र रहेर काम गर्नुपर्छ।”
हालै जेनजीको नाममा केही व्यक्तिहरूले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, नेपाल वायु सेवा निगम, नेपाल नागरिक उड्डयन प्राधिकरण लगायतका संवैधानिक निकाय र संस्थामा पुगेर कर्मचारीलाई हप्क्याउने, राजीनामा दिन दबाब दिने जस्ता गतिविधि गरेका थिए।
गृहमन्त्री अर्यालले त्यस्ता कार्यले आन्दोलनको उद्देश्यलाई बदनाम बनाउने भन्दै यस्ता गतिविधि दोहोरिए कानुनी कारबाही गर्ने चेतावनी दिएका छन्।

