काठमाडौं । विद्युतीय चुरोट (भेप) मार्फत सुन तस्करी प्रकरणमा पूर्वउपराष्ट्रपति तथा माओवादी केन्द्रका उपाध्यक्ष नन्दबहादुर पुन (पासाङ) पनि मुछिएका छन्।

यसअघि सोही प्रकरणमा माओवादी केन्द्रकै अर्का उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ परेका थिए। प्रहरीका अनुसार पुन र उनका छोराहरूविरुद्ध पनि अनुसन्धान अघि बढाइएको छ।

रोल्पा राङ्सी घर भएका पुनका जेठा छोरा जितेन्द्र पुनले चिनियाँ टोलीसँग चार किलो सुनको ‘तमसुक’ गरेको घटनाले पुन परिवार विवादमा आएको हो। कान्छा छोरा दीपेश पुन भने ९ किलो र ६१ किलो सुन तस्करी प्रकरणसहित सहकारी ठगी र भुटानी शरणार्थी काण्डमा समेत मुछिएका छन्।

त्यस्तै, पुनको सचिवालयका वैदेशिक मामिला विज्ञ जीवनकुमार गुरुङ र आफन्त अमला रोका पनि यस प्रकरणमा संलग्न देखिएका छन्। दुवै धरौटीमा रिहा भएका छन्।

परिवार, सचिवालय सदस्य र आफन्तहरू तस्करी प्रकरणमा संलग्न रहेकाले पूर्वउपराष्ट्रपति पुनमाथि पनि प्रहरीले औपचारिक अनुसन्धान अघि बढाएको जनाएको छ।