काठमाडौं — रसुवाको भोटेकोशीमा आएको बाढी हाल धादिङको गल्छी आसपास पुगिसकेको र आगामी केही घण्टामा मुग्लिन पार हुने क्रममा रहेको भन्दै सम्बन्धित निकायले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
बाढीका कारण पृथ्वी राजमार्ग, मुग्लिन–नारायणगढ सडकखण्ड लगायत त्रिशूली नदी आसपासका बस्ती तथा बजार क्षेत्रमा जोखिम बढ्न सक्ने भएकाले नदी किनार तथा जोखिमयुक्त क्षेत्रमा रहेका नागरिकलाई सुरक्षित स्थानमा रहन आग्रह गरिएको छ।
त्रिशूली नदी आसपास विशेष सतर्कता
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले त्रिशूली नदी आसपासका बस्ती र बजार क्षेत्रमा बाढीको जोखिमलाई मध्यनजर गर्दै उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ।
विशेषगरी नदी किनारमा नजान र सम्भावित जोखिम भएका स्थानबाट सुरक्षित स्थानतर्फ जान आग्रह गरिएको छ।
बाढीसम्बन्धी जानकारी तथा राहतका लागि १२३४, १०० र ११११ नम्बरमा सम्पर्क गर्न सकिने सूचनामा उल्लेख छ।


