फाइल फाेटाे
चितवन । चितवनमा बँदेल मार्न थापेको विद्युतीय धरापमा परी गैँडा मरेपछि चार जनालाई पक्राउ गरिएको छ । भरतपुर महानगरपालिका-२६ मा गैँडा मारेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुनले जानकारी दिए ।
स्थानीयले मकैबारीमा आउने गरेको बँदेल मार्न थापेको विद्युतीय पासोमा परी अन्दाजी १३ वर्षको पोथी गैँडा मरेको र घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए । सुरुआतमा गैँडा प्राकृतिक कारणले मरेको जस्तो देखिए पनि शव परीक्षणका क्रममा विद्युतीय धरापमा पारी मारिएको खुलेपछि अनुसन्धानका लागि चार जनालाई पक्राउ गरिएको प्रमुख संरक्षण अधिकृत पुर्जा पुनले बताए । “गैँडाको खाग, खुर सुरक्षित भए पनि जुनसुकै किसिमले वन्यजन्तुलाई घाइते बनाउने, घेरा हाल्ने, लखेट्ने, मार्नेजस्ता गतिविधि चोरी सिकारअन्तर्गत पर्दछन्”, उनले भने ।
पुनका अनुसार अनुसन्धानका क्रममा साउन ८ गते दुई जना र १० गते दुई जनालाई पक्राउ गरिएको हो । पक्राउ परेका चारै जनालाई चितवन जिल्ला अदालतबाट ६ दिनको समय थप गरी अनुसन्धान भइरहेको छ । पक्राउ परेका चार जनालाई संरक्षित वन्यजन्तु चोरी सिकारऐनअन्तर्गत म्याद थप गरिएको हो ।
ऐनको व्यवस्था अनुसार यस्तो कार्यमा सङ्लग्नलाई रु. ५ लाखदेखि १० लाखसम्म जरिवाना र ५ वर्षदेखि १५ वर्षसम्म कैद सजाय वा दुवै सजाय हुने व्यवस्था छ ।