हेटौँडा–१६ र १७ को सिमानास्थित गैरी गाउँमा गत शुक्रबार एउटा टाटा गाडी जमिन भासिएर हराएपछि त्यसको अध्ययन गर्न खानी तथा भूगर्भ विभागको टोली खटिएको छ। ना ४ च ४८३३ नम्बरको उक्त गाडीमा घाँस काट्ने मेसिन लोड गरिएको थियो र गाडी रोकिराखेको अवस्थामा एक्कासि अगाडिको पाङ्ग्रा जमिनमा भासिएको थियो। गाडी निकाल्ने प्रयासकै क्रममा पुरै गाडी जमिनमा भासिएर बेपत्ता भएपछि स्थानीय तहले भूगर्भविद् टोली बोलाएर अनुसन्धान थालिएको हो।

भूगर्भविद् नारायण अधिकारीको नेतृत्वमा कृष्ण पाण्डे, मणि खनाललगायत प्राविधिक टोलीले मङ्गलबार बिहान ९ बजेदेखि साँझ ७ बजेसम्म सो क्षेत्रमा भू-गर्भीय अध्ययन गरेका थिए। उनीहरूले म्याग्नेटो मिटर र पावर अगर जस्ता प्रविधिको प्रयोग गरी गाडी भासिएको स्थानको गहिराइ र भौगोलिक बनावटबारे अनुसन्धान गरेका हुन्। प्रारम्भिक अध्ययन अनुसार जमिनको माथिल्लो सतह माटोले भरिएको भए पनि तल्लो भाग दलदल र बालुवायुक्त रहेको पाइएको छ, जसका कारण जमिन तरल बनेर गाडी भासिएको अनुमान गरिएको छ।

म्याग्नेटो मिटर प्रयोग गर्दा खाल्डोको पूर्वतर्फ चुम्बकीय आकर्षण बढी देखिएको र सो स्थानमा फलामजन्य वस्तु भेटिएको भूगर्भविद्ले बताएका छन्। पावर अगर (ड्रिलिङ विधि) बाट गरिएको परीक्षणमा ५.४० मिटर र ५.६० मिटर गहिराइमा फलामजन्य वस्तु भएको पुष्टि भएको छ। यद्यपि यो गाडी नै हो भन्ने निश्चित नभए पनि ती गहिराइमा गाडी हुन सक्ने उच्च सम्भावना रहेको भूगर्भविद्को भनाइ छ। माटोको रचना ग्लेइ सिल्ड र बालुवायुक्त भएको तथा भूगर्भीय दबाबका कारण तरलता उत्पन्न भएको उनीहरूले बताएका छन्।

गाडीको ठ्याक्कै अवस्थिति पत्ता लगाउन थप अध्ययन बुधबार पनि जारी रहने जनाइएको छ। फेला परेका स्थानहरूमा पुन: ड्रिलिङ गर्ने र भूजल तथा माटोको गुणस्तर परीक्षण गर्न नमुना सङ्कलन गरिएको छ। हेटौँडा उपमहानगरपालिकाले घटनाको गम्भीरता मध्यनजर गर्दै भूगर्भविद्सँग समन्वय गरी यथाशिघ्र गाडीको अवस्था पत्ता लगाउने र जोखिम मूल्यांकन गर्ने तयारी गरेको छ। यस घटनाले सो क्षेत्रको भौगोलिक जोखिमप्रति सचेत बनाएको छ।