बर्दिबास । महोत्तरीको बर्दिबास नगरपालिका–१० खयरमारामा यात्रु बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने २६ जना घाइते भएका छन्। घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर रहेको छ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय महोत्तरीका अनुसार काठमाडौंतर्फ गइरहेको ना ६ ख १४६४ नम्बरको यात्रुबस आज विहान खयरमारा पुग्दा लक्ष्मीनारायण माध्यमिक विद्यालयको पर्खाल भत्काउँदै नरिवलको रुखमा ठोकिएर दुर्घटनामा परेको हो।
दुर्घटनामा परेर खयरमारा–१० निवासी ६५ वर्षीय पैदल यात्री चुल्हाई चौधरीको घटनास्थलमै मृत्यु भएको जिल्ला ट्राफिक प्रमुख लक्ष्मीराज जोशीले जानकारी दिए। त्यस्तै, ईश्वरपुर–१२ निवासी १० वर्षीय प्रमिस खड्काको शुभ स्वस्तिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। अस्पतालका प्रमुख डा. प्रदीप कार्कीका अनुसार बालक खड्काको टाउकोमा गहिरो चोट लागेको थियो।
दुर्घटनामा परी १३ महिलासहित २६ जना घाइते भएका छन्। घाइतेहरुलाई नजिकैको शुभ स्वस्तिक अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ। घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर रहेको चिकित्सकले जनाएका छन्।
दुर्घटनाको कारणबारे यकिन हुन बाँकी रहे पनि प्रत्यक्षदर्शीका अनुसार तीव्र गतिका कारण चालकले सन्तुलन गुमाउँदा दुर्घटना भएको हुनसक्छ। ट्राफिक प्रमुख जोशीका अनुसार दुर्घटनापछि बस चालक र सह–चालक फरार छन् र प्रहरीले उनीहरुको खोजी कार्य तीव्र पारेको छ।

