काठमाडौं । अविरल वर्षाका कारण देशका विभिन्न जिल्लामा बाढी र पहिरोको प्रकोप बढेको छ। लगातारको वर्षाले नदी तथा खोलामा पानीको सतह बढ्दा बस्ती डुबानमा परेका छन् भने पहाडी क्षेत्रमा पहिरोले जनधनमा क्षति पुर्याएको छ। सडक अवरुद्ध हुँदा यातायात प्रभावित भएको छ भने जोखिमयुक्त क्षेत्रका बासिन्दा त्रासमा छन्।
बुटवलमा बाढीले ६ घर बगायो
रुपन्देहीको बुटवलस्थित तिनाउ नदीमा आएको बाढीले नदी किनारका ६ वटा घर बगाएको छ। बाढीका कारण आसपासका बस्तीसमेत जोखिममा परेका छन्। सम्भावित जोखिमलाई ध्यानमा राख्दै सुरक्षाकर्मीले स्थानीय बासिन्दालाई सुरक्षित स्थानमा सार्ने तथा उद्धार गर्ने कार्य गरेका छन्।
बागलुङमा पहिरोले एक जनाको मृत्यु
बागलुङको ताराखोला गाउँपालिका–५ धम्मरमा पहिरोले घर पुरिँदा ६९ वर्षीय मानबहादुर रोकाको मृत्यु भएको छ। शुक्रबार राति घरमाथिबाट खसेको पहिरोले उनलाई पुरेको हो। वर्षा नरोकिएकाले पहाडी क्षेत्रमा थप पहिरो जान सक्ने जोखिम कायम छ।
सुस्तामा २०० भन्दा बढी घर डुबानमा
नवलपरासी पश्चिमको सुस्ता गाउँपालिका–५ मा नारायणी नदीमा आएको बाढीका कारण २०० भन्दा बढी घर डुबानमा परेका छन्। नदीको जलस्तर बढेसँगै तटीय क्षेत्रका बासिन्दा प्रभावित भएका छन्। स्थानीय प्रशासन तथा सुरक्षा निकायले जोखिमयुक्त क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेका छन्।
जनधनको क्षति, उद्धार कार्य जारी
वर्षाजन्य विपद्का घटनामा विभिन्न जिल्लामा मानवीय तथा भौतिक क्षति भएको छ। नेपाल प्रहरीका अनुसार असोज ८ गतेदेखि भएका विपद्का घटनामा ६ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन्। हालसम्म ४०७ जनाको उद्धार गरिएको विवरण सार्वजनिक भएको छ।
बाढी तथा पहिरोका कारण सडक, घर तथा अन्य भौतिक संरचनामा समेत क्षति पुगेको छ। वर्षा जारी रहेकाले जोखिमयुक्त क्षेत्रमा थप क्षति हुन सक्ने सम्भावना रहेको छ।
सतर्क रहन प्रशासनको आग्रह
सम्बन्धित निकायले नदी किनार, खोलानाला आसपास तथा पहिरोको जोखिम भएका क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सतर्क रहन आग्रह गरेका छन्। नदीमा पानीको बहाव बढेको अवस्थामा नदी किनारमा नजान र जोखिम देखिएमा तत्काल सुरक्षित स्थानमा जान सुझाव दिइएको छ।
अविरल वर्षाका कारण प्रभावित क्षेत्रको अवस्था तथा क्षतिको पूर्ण विवरण संकलन भइरहेको छ। थप विवरण प्राप्त भएपछि जिल्लागत क्षतिको तथ्यांक अद्यावधिक गरिनेछ।


