अमेरिका । आइसीसी टी-२० विश्वकपमा नेदरल्याण्डसँग खेल्नु अघि नेपाली राष्ट्रिय क्रिकेट टोलीले अमेरिकाको टेक्सासमा रहेको युलेसस्थित पशुपतिनाथ मन्दिर र बौद्ध विहारको दर्शन गरेका छन् । नेपाली राष्ट्रिय क्रिकेट टिमले आइसीसी टी-२० विश्वकप खेल आज नेदरल्याण्डसँग खेल्न लागेको हो ।
खेल नेपाली समय अनुसार राति सवा ९ बजेदेखि सुरु हुनेछ । पूजाआजपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले नेपाली टिमले सम्पूर्ण रूपमा राम्रो तयारी गरिरहेको बताए । नेपालले वेस्टइण्डिज र अमेरिकामा गरी करिब एक महिना तयारी गरिसकेको भन्दै राम्रो नतिजा निकाल्नेमा आशावादी रहेको उनले बताए । सन् २०१४ को भन्दा धेरै गुणा राम्रो तयारी रहेको बताउदै खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गरेपछि मात्रै सबैतिरको ढोका खुल्ने उनले बताए ।
खेलाडीहरूलाई उच्च मनोबलका साथ खेल्न आग्रह गरेको र सबै खेलाडीहरू उत्साहित रहेको पनि चन्दले बताए ।