काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विभाजनमा रहेका सबैजसो माओवादीहरू एकताका लागि तयार रहेको बताएको छ । उनले सबैलाई एकीकृत बनाएर अगाडि बढ्ने पनि बताए।
पोखरामा आज आयोजित गण्डकी प्रदेशको पार्टी प्रशिक्षण कार्यक्रममा नेकपा(माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डले आफू निरन्तर जनक्रान्तिमा रहेको स्पष्ट पार्दै सबै माओवादी धारहरूलाई एकीकृत हुन आग्रह गरे।
‘फुटेका सबैजसो साथीहरू एकता लागि तयार हुनुहुन्छ, हामी स्वागत गर्न तयार भएर बसेका छौँ,’ अध्यक्ष प्रचण्डले भने, ‘म जनक्रान्तिकै बाटोमा छु, चुनवाङकै बाटोमा छु, हिजो प्रचण्डबाट क्रान्ति भएन भनेर उहाँहरू छुट्टिनुभयो, त्यो बाटो सही साबित भएन, हामी सही छौँ। हिजो अलग भएका साथीहरू आउन तयार हुनुहुन्छ। म उहाँहरूलाई स्वागत गर्न तयार छु।’ बुर्जुवा गणतन्त्रमा समावेशी एवं समानुपातिक नहुने उल्लेख गर्दै संघीय लोकतान्त्रिक गणतन्त्र बुर्जुवा चरित्रको नभएको उनले स्पष्ट पारे।
पार्टीलाई एकीकृत गरे अगाडि बढ्नेगरी वातावरण बनाउन र सही निष्कर्षमा पुर्याउनुपर्नेमा उनले जोड दिए।