काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारत जाने तयारी गरेको छ । नरेन्द्र मोदीले प्रधानमन्त्रीको रूपमा तेस्रो पटक लिने शपथग्रहण समारोह सहभागी हुन प्रचण्ड भारत जान लागेको हो ।

 

नरेन्द्र मोदीले आफ्नो तेस्रो कार्यकालको शपथग्रहण समारोहमा सहभागी हुन प्रधानमन्त्री प्रचण्डलाई निमन्त्रणा पठाएको छ । मोदीले बुधबार नै प्रचण्डसँग कुराकानी गरेको उल्लेख गर्दै नेपाल भारतको साझेदारीलाई झन् बलियो बनाउने सामाजिक सञ्जालमा उल्लेख गरेका थिए । भारतीय मिडियाहरूका अनुसार जुन ८ मा मोदीले शपथ लिने तयारी गरेको छ ।

 

समाचार एजेन्सी पीटीआईका अनुसार यस समारोहका लागि मोदीले नेपालसहितका छिमेकी देशका नेताहरूलाई निमन्त्रणा पठाएका छन् । जसमा श्रीलंकाका राष्ट्रपति रनिल विक्रमासिङ्घे, बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिना, नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र मोरिसस र भुटानका नेताहरुलाई निमन्त्रणा पठाइएको छ ।