काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारले राम्रो कामको पहल गर्दागर्दै हटाएर जनतामा जाने आधार तयार भएको बताएको छ ।

पार्टी मुख्यालय पेरिसडाँडामा बसेको बैठकलाई सम्बोधन गर्दै आफू नेतृत्वको सरकारले भ्रष्टाचारविरुद्ध, जनतालाई सेवा प्रवाह र अन्तर्राष्ट्रिय जगलाई सन्तुलन मिलाउने कुरामा राम्रो पहलकदमी लिएको ब्रिफिङ गरेको प्रवक्ता अग्नि सापकोटाले बताए ।

अध्यक्ष ‘प्रचण्ड’को भनाइलाई उद्धृत गर्दै उनले भने, ‘यो पहलकदमी लिँदा हामीलाई हटाइएको छ । त्यसलाई हामीले अवसरको रूपमा लिनुपर्छ । जनतामा जाने, हाम्रो वर्गसँगको कडी कहीँ न कहीँ टुटेको थियो । त्यसलाई सुदृढ गर्ने अवसर प्राप्त भएको छ।’

बैठकमा पार्टीको अबको रणनीति र समीक्षा गर्दै ६ जनाले आफ्नो धारणा राखेको सापकोटाले बताए ।