हेजबुल्लाहसँगको लडाइँ भने इजरायलका पनि सजिलो नहुने विश्लेषकहरू बताउँछन् । किनभने हेजबुल्लाह सबैभन्दा आधुनिक हतियारले सुसज्जित गैरराज्य समूह मानिन्छ । इरानको समर्थन पाएको यो सिया समूह मुख्यगरी लेबनानबाट सञ्चालित रहेको छ ।

अक्टोबर ८ मा गाजा युद्ध सुरु भएसँगै इजरायल र हेजबुल्लाहबीच हानाहान चल्दै आएको छ । पछिल्लो आक्रमणले क्षेत्रव्यापी युद्धको त्रास बढाएको छ भने सो क्षेत्रमा तनाव घटाउने प्रयास असफल हुँदै आएको छ । इजरायलको तुलनामा हेजबुल्लाहको सैन्य शक्ति निकै कमजोर छ । तर, सो समूहको शक्ति बढ्दो छ । उसले इजरायल र उसका सहयोगीहरूलाई ठूलो क्षति पुर्‍याउन सक्छ ।

त्यस्तै हेजबुल्लाहको रणनीतिक गहिराइ पनि अन्य समूहको भन्दा ज्यादा छ । यमन, सिरिया, गाजा र इराकसहित यो क्षेत्रमै इरान समर्थित लडाकु समूहहरूको दबदबा छ । ती अन्य समूहसँग हेजबुल्लाहको साझेदारी छ। उनीहरू सबै इजरायलविरुद्ध छन् । यमनमा हुती, इराकमा इस्लामिक प्रतिरोध, गाजामा हमास र लेबनानमा हेजबुल्लाहले मिलेर इजरायलविरुद्ध लडिरहेका छन् ।

हेजबुल्लाहको शक्तिको उदय बेरुतको खण्डहरबाट १९८२ मा भएको थियो। जहाँ इजरायलले हमला गरेको थियो । त्यसबेला यो समूह लडाकुहरूको कमजोर जमात थियो । तर, त्यसपछि उसको शक्तिमा भारी वृद्धि भएको छ । सन् २००० मा हेजबुल्लाहका गुरिल्ला लडाकुले दक्षिणी लेबनानबाट इजरायली सैनिकहरूलाई भाग्न बाध्य बनाए । जुन स्थानमा २० वर्षभन्दा बढी समय इजरायली फौजले अतिक्रमण गरेको थियो ।

२००६ मा इजरायलसँग हेजबुल्लाहको ३४ दिन लामो युद्ध भयो । त्यसबेला इजरायलले लेबनानलाई तहसनहस बनाए पनि यो समूह नष्ट गर्न सकेन । २०१० को दशकमा पश्चिमाहरूको सहयोगमा सशस्त्र समूहले सिरियाका राष्ट्रपति बसर अल असदविरुद्ध गृहयुद्ध सुरु गरे । हेजबुल्लाहले असदलाई साथ दियो । सो समूहका लडाकुले झण्डै एक दशक लामो युद्ध लडे । जसले उनीहरूलाई सहरी युद्धकलामा पोख्त बनायो । त्यस्तै अन्य समूहको सहायतामा इरानबाट हतियार आयात गर्ने बाटो पनि उसले खोल्यो ।

इजरायलसँगको दशकौँ लामो युद्धमा हेजबुल्लाहले असमान युद्ध लड्दै आएको छ । अर्थात् इजरायलको शक्ति कयौँ गुणा ज्यादा भए पनि उसले टक्कर दिँदै आएको छ र। सो क्रममा हेजबुल्लाहले आफ्नो सैन्य तथा राजनीतिक शक्ति पनि बढाउँदै लगेको छ । तर, इजरायलसँग आमनेसामने युद्ध भएमा यो समूहलाई ठूलो क्षति हुन सक्छ । त्यसमाथि लेबनान झनै तहसनहस हुन सक्छ ।

गत अक्टोबरयता मात्र हेजबुल्लाहले वरिष्ठ कमान्डरसहित ४ सयभन्दा बढी लडाकु गुमाइसकेको छ । इजरायलतर्फ पनि उत्तरी सीमाबाट ६० हजार मानिस विस्थापित भएका छन् । कयौँ सैनिक र सर्वसाधारण मारिएका छन् । हानाहानमा इजरायलको निकै शक्तिशाली मानिने आइरन डोम क्षेप्यास्त्र प्रतिरोध प्रणाली भेदन गर्न पनि हेजबुल्लाह सफल भएको छ । खासगरी आइरन डोमलाई नै ताकेर आक्रमण गर्ने र ससाना क्षेप्यास्त्र र ड्रोनको ठूलो समूह पठाएर सो प्रणालीलाई उसले अस्तव्यस्त तुल्याउने गर्छ । जसका कारण उसको क्षेप्यास्त्र इजरायलको भित्री भागसम्म पुग्ने मौका पाउँछ ।

इजरायली आक्रमणमा हेजबुल्लाह टिक्न सक्छ, सक्दैन भन्ने कुरा उसले इजरायलको शक्तिशाली प्रविधिलाई छल्न सक्छ कि सक्दैन भन्नेमा निर्भर छ ।

कति छ हेजबुल्लाहको शक्ति? 
हेजबुल्लाहसँग इजरायलको कुनाकुना प्रहार गर्न सक्ने हतियार रहेको बताइन्छ । उसँग भएका रकेटको संख्या करिब २ लाख भएको अनुमान छ । जसमा छोटो दुरीमा प्रहार गर्नेदेखि लिएर सयौँ किलोमिटर मार हान्न सक्ने क्षमता भएका क्षेप्यास्त्र समेत पर्छन् ।

४० किमिसम्म प्रहार गर्ने कात्युसा, १० किमि प्रहार गर्ने फज्र १, फलक १, फलक २, १३ किमि प्रहार गर्ने साहिन, ७५ किमि प्रहार गर्ने फज्र ५ जस्ता क्षेप्यास्त्र हेजबुल्लाहसँग छन् । त्यस्तै, ७० किमि हारहारी प्रहार गर्ने राद २ र ३, १०० किमि प्रहार गर्ने खैबर १, १५० किमि प्रहार गर्ने जेलजाल १, २०० किमि प्रहार गर्ने जेलजाल २, ३०० किमि प्रहार गर्ने फतेह ११० र ५ सय किमि प्रहार गर्ने स्कुड क्षेप्यास्त्र पनि सो समूहसँग छ ।

ड्रोनको कुरा गर्ने हो भने १२० किमि उड्ने मिर्साद १, १५० किमि पर पुग्ने मिर्साद २, १ हजार किमि पुग्ने करार र २ हजार किमि रेन्ज भएको साहिद १२९ पनि हेजबुल्लाहसँग छ ।

२०२१ मा हेजबुल्लाहका नेता सइद हसन नसरल्लाहले आफ्नो समूहकका १ लाख लडाकु भएको बताएका थिए । त्यसलाई अतिशयोक्ति मान्दा पनि हेजबुल्लाहसँग हजारौँ लडाकु रहेको स्पष्ट छ । हेजबुल्लाहसँग करिब ३० हजार सक्रिय र २० हजार रिजर्भ लडाकु रहेको अनुमान छ ।

(नेपालखबरबाट)