एजेन्सी/रफाह : विगत दुई वर्षदेखि जारी इजरायल–हमास युद्धले गाजालाई विनाशको प्रतीक बनाएको छ। संयुक्त राष्ट्र विकास कार्यक्रम (यूएनडीपी) का अनुसार इजरायलले गाजामा खसालेको विस्फोटक पदार्थको मात्रा १३ वटा आणविक बमको संयुक्त शक्ति बराबरको छ।
यी आक्रमणका क्रममा १ लाख ५२ हजारभन्दा बढी मानिसले ज्यान गुमाएका छन्, र ३ लाख ७२ हजारभन्दा बढी घाइते भएका छन्। मृतकमध्ये धेरैजसो महिला र बालबालिका छन्।
यूएनडीपीको ‘गाजाको पुनर्निर्माण सूचकांक’ प्रतिवेदनअनुसार, १ लाख ५ हजारभन्दा बढी भवनहरू पूर्ण रूपमा ध्वस्त भएका छन्। गाजाका १० मध्ये ८ वटा भवन भग्नावशेष बनेका छन्। अहिले त्यहाँ ६ करोड टनभन्दा बढी भग्नावशेष रहेका छन् — जुन सिरियाको अलेप्पोमा भएको विनाशको तीन गुणा हो।
इन्जिनियरिङ काउन्सिलका अनुसार यी भग्नावशेष हटाउन मात्रै १२ देखि १५ वर्ष लाग्नेछ र यसको लागत करिब २४ अर्ब अमेरिकी डलर पर्ने अनुमान गरिएको छ — जुन प्यालेस्टाइनको वार्षिक जीडीपीको चार गुणा हो।
मानवीय संकट चरममा
संयुक्त राष्ट्र, डब्ल्यूएचओ र यूएनआरडब्ल्यूएका ताजा तथ्यांक अनुसार, ४२३ स्वास्थ्यकर्मी, १७९ पत्रकार र २४७ संयुक्त राष्ट्रकर्मी समेत आक्रमणमा ज्यान गुमाएका छन्। गाजाका ९० प्रतिशत नागरिकको आवास नष्ट वा बस्न अयोग्य बनेको छ।
बन्धक रिहाइपछि उत्सव, तर शान्ति अझै टाढा
हालै हमासले युद्धविरामको एक अंशका रूपमा २० इजरायली बन्धकहरू रेडक्रसमार्फत रिहा गरेपछि इजरायलमा उत्सव मनाइएको छ। तर इजरायलले वेस्ट बैंकमा कोलोनी विस्तारको योजना रोक्ने संकेत नदिँदा दीर्घकालीन शान्ति अझै अनिश्चित बनेको छ।
गाजाको पुनर्निर्माण र शान्ति प्रक्रिया कति सम्भव छ भन्ने प्रश्नले अहिले सम्पूर्ण विश्वको ध्यान तानेको छ।

