काठमाडौं । सर्वोच्च अदालतले गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीलाई पदमुक्त गर्दै ठुलो दलका नेता सुरेन्द्रराज पाण्डेलाई मुख्यमन्त्री नियुक्ति गर्न परमादेश जारी गरेको छ । सर्वोच्च अदालतले अधिकारीले लिएको विश्वासको मतलाई बदर गर्दै उनलाई पदमुक्त हुने फैसला सुनाएको हो ।
सर्वोच्चका न्यायाधीशद्धय सुनिलकुमार पोखरेल र कुमार रेग्मीको संयुक्त इजलासले अधिकारीले लिएको विश्वासको मत बदर गर्दै रिट निवेदनकर्ता नेपाली कांग्रेसका गण्डकी प्रदेश संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेलाई संविधानको धारा १६८ को उपधारा ३ अनुसार मुख्यमन्त्री नियुक्त गर्न परमादेश पनि जारी गरेको छ । एमाले नेता अधिकारीले गत आइतबार प्रदेश सभाबाट विश्वासको मत लिएको थियो । गण्डकीका सभामुख कृष्ण धितालले ६० सदस्यीय प्रदेशसभामा ३० सिटलाई बहुमत घोषणा गरेर अधिकारीले बहुमत प्राप्त गरेको बताएको थियो । उनले आफूसँग पनि मत हाल्न पाउने अधिकार रहेको पनि बताएको थियो ।
६० सदस्यीय प्रदेश सभामा मुख्यमन्त्री अधिकारीले राखेको विश्वासको मतको प्रस्तावको पक्षमा ३० मत, विपक्षमा २७ र २ जना तटस्थ बसेका थिए ।

