share 835 काठमाडौं । इरानले इजरायलका दुई शहरमा मिसाइल प्रहार गरेको छ । इजरायलको राजधानी तेल अभिभ र बन्दरगाहाको सहर भनेर चिनिने हाइफामा सोमबार बिहान मिसाइल प्रहार गरेको हो । अलजजिराका अनुसार पछिल्लो आक्रमणमा परी कम्तिमा आठ जनाको मृत्यु भएको छ । सो आक्रमणमा कम्तिमा ३० जना घाइते भएका रोयटर्सले लेखेको छ । हाइफा क्षेत्रमा अहिले पनि उद्धार र खोजी कार्य चलिरहेको अधिकारीहरुले बताएका छन् । मिसाइलका कारण थुप्रै घरहरुमा क्षति पुगेको छ । शुक्रबारदेखि सुरु भएको द्वन्द्वका कारण इरानले गरेको आक्रमणमा १८ इजरायली नागरिकको मृत्यु भएको छ भने घाइते हुनेको संख्या १०० भन्दा बढी छ । आक्रमणका कारण हाइफा बन्दगाहनजिकैको विद्युतगृहमा समेत आगलागी भएको छ । मिडियामा आएका भिडियोहरुमा तेल अभिभमा थुप्रै मिसाइल उडेको देखिन्छ । मिसाइल विस्फोटको आवाज जेरुसेलम सम्म सुनिएको थियो । इरानले तेल अभिभमा अमेरिकी दूतावासको कार्यालय नजिकै आक्रमण गरेको र त्यहाँ पनि सामान्य क्षति पुगेको समाचारमा उल्लेख छ । सोमबार बिहान इरानले तेल अभिभको आवासीय क्षेत्रमा मिसाइल प्रहार गरेर क्षति पुर्याएपछि इजरायलले पनि प्रतिकार गर्ने चेतावनी दिएको छ । इजरायलको रक्षा मन्त्रायलले आक्रमणको प्रतिक्रिया दिँदै भनेको छ, ‘चाडैं तेहरानका बासिन्दाहरुले यसको मूल्य चुकाउनेछन् ।’ इजरायली रक्षा मन्त्री इजरायल काट्जले इरानका सर्वोच्च नेता अयातोल्लाहा खामेनीलाई ‘घमण्डी तानाशाह’को संज्ञा दिँदै उनी अब ‘कायर हत्यारा’ बनेको आरोप लगाएका छन् । इजरायली सेनाको आक्रमणले इरानको क्षमता धरासयी भएको र प्रतिवादमा नेता खामेनीले इजरायलको आवासीय क्षेत्रलाई निसाना बनाएको उनको आरोप छ । हवाइ आक्रमण र मिसाइलको प्रतिरक्षाका लागि इजरायलको ‘आइरन डोम’लाई शक्तिशाली मानिन्थ्यो तर, इरानले गरेका पछिल्ला आक्रमणमा इजरायली प्रतिरक्षा प्रणाली आइरन डोम असफल साबित भएको छ । आक्रमणले लक्ष्य भेटेको भन्दै इरानी अधिकारीहरुले नयाँ प्रविधि प्रयोग गरेर मिसाइल प्रक्षेपण गरिएको दाबी गरेका छन् । क्षेत्रीय शान्तिका लागि आणविक कार्यक्रम रोक्नुपर्ने भन्दै इजरायलले आक्रमण गरेपछि इरानले प्रत्याक्रमण गरेको हो । इरानतर्फ भने इजरायलले गरेको आक्रमणमा परी हालसम्म कम्तिमा २ सय २४ जनाको मृत्यु भएको छ । पोस्टको नेभिगेसन इजरायल विरूद्धको हमलामा इरानलाई यमनबाट हुथीको सहयोग इरानको राजधानी तेहरान खाली गर्न ट्रम्पको चेतावनी