काठमाडौं । सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयले एकैपटक १६८ जना सशस्त्र प्रहरी अधिकृतहरूको कमाण्ड हेरफेर गरेको छ।
सशस्त्र प्रहरी बलका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाका अनुसार, हालको सुरक्षा चुनौतीलाई ध्यानमा राख्दै उक्त हेरफेर गरिएको हो। कुल १६८ जनामध्ये सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) २६ जना, प्रहरी निरीक्षक ९३ जना र नायब निरीक्षक ४९ जना रहेका छन्।
मुख्यालयले पहिले नै कमाण्डमा खटिन सक्ने अधिकृतहरूको पूर्वानुमान सूची सार्वजनिक गरेको थियो र सोही सूचीमा रहेका अधिकृतहरूलाई जिम्मेवारी तोकिएको हो।
डिएसपी थापाका अनुसार, सीमा क्षेत्रमा खटिएर राजश्व संकलनमा उत्कृष्ट प्रदर्शन गर्ने अधिकृतहरूलाई प्राथमिकतामा राखी कमाण्ड जिम्मेवारी दिइएको छ। त्यस्तै, लामो समय एउटै प्रदेशमा कार्यरत अधिकृतहरूलाई फरक प्रदेशका युनिटमा स्थानान्तरण गरिएको छ।
प्रधान कार्यालयका अनुसार, अवकाश नजिक रहेका अधिकृतहरूलाई पनि प्राथमिकतामा राखी फरक भौगोलिक क्षेत्रमा कमाण्ड जिम्मेवारी तोकिएको छ।
सशस्त्र प्रहरीले यो हेरफेरलाई संगठनको कार्यक्षमता वृद्धि र सुरक्षात्मक संरचना सुदृढीकरणका लागि आवश्यक कदमका रूपमा लिएको जनाएको छ।

