काठमाडौं । जेनजीका नाममा विभिन्न कार्यालयमा कर्मचारी धम्क्याउँदै हिँडेका अर्जुन शाहीलाई प्रहरीले पक्राउ गरेको छ।

काठमाडौँ प्रहरी परिसरका प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार अछामको पञ्चदेवल विनायक नगरपालिका–४ घर भएका २६ वर्षीय शाहीलाई कोटेश्वरबाट पक्राउ गरिएको हो। उनका विरुद्ध यसअघि पनि विभिन्न उजुरीहरू परेको प्रहरी अभिलेखमा भेटिएको छ।

एसपी भट्टराईले बताए, “उनविरुद्ध वैदेशिक रोजगारीका नाममा ठगी, चेक बाउन्सलगायतका उजुरी परेका थिए। पछिल्ला दिनमा जेनजीका नाममा गैरकानुनी गतिविधि गर्दै सरकारी कार्यालयका कर्मचारी धम्क्याउने कार्य दोहोर्याएपछि पक्राउ गरी अनुसन्धान अघि बढाइएको छ।”

यसअघि शाहीसहितको टोलीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा विवाद सिर्जना गरेको थियो। यस्तै, उनले नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई विभिन्न आरोप लगाउँदै राजीनामा मागेका थिए।

शाही पहिले पनि चर्चामा आएका थिए, जब पूर्वप्रधानमन्त्री सुशीला कार्की प्रधानमन्त्री हुँदा उनी जेनजी समूहका अगुवा बनेर शीतल निवास पुगेका थिए। त्यतिबेला सुशीलाले सुदन गुरुङ र अन्य जेनजी सदस्यसँगै शाहीसँग हात मिलाएकी थिइन्।

प्रहरीका अनुसार, शाहीले विभिन्न व्यक्तिलाई लाखौँ रुपैयाँ ठगेको प्रमाण भेटिएको छ। बुधबारमात्रै गृहमन्त्री ओमप्रकाश अर्यालले यस्ता गैरकानुनी गतिविधिमा संलग्न जो कोहीमाथि पनि कारबाही हुने चेतावनी दिएका थिए।

गृहमन्त्री अर्यालका अनुसार, “राज्यविरुद्धका धम्कीपूर्ण र अवैध गतिविधि प्रहरीको निगरानीमा छन्। कानूनविपरीत काम गर्ने जो कोही कारबाहीको दायरामा आउँछ।”

प्रहरीले शाहीविरुद्ध थप अनुसन्धान सुरु गरेको जनाएको छ।