काठमाडौं । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकविरुद्ध दर्ता गरिएको जाहेरी जाँचबुझ आयोगले फिर्ता पठाएको छ।

जेन–जी आन्दोलनका क्रममा भदौ २३ र २४ गते भएका घटनामा मृत्यु भएका व्यक्तिहरूका परिवारले उनीहरूविरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी दिएका थिए। प्रहरी परिसरले उक्त जाहेरी छानबिनका लागि गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगमा पठाएको थियो।

तर आयोगले सो जाहेरी आफ्नो कार्यक्षेत्रभित्र नपर्ने भन्दै फिर्ता पठाएको हो। आयोगका प्रवक्ता विज्ञानराज शर्माका अनुसार आयोगले भदौ २३ र २४ गतेका प्रदर्शनका क्रममा भएका भौतिक तथा मानवीय क्षतिको कारण र यथार्थ पत्ता लगाउने जिम्मेवारी पाएको भए पनि, सो जाहेरी प्रत्यक्ष कारबाहीको सन्दर्भमा पर्न नआएकाले फिर्ता गरिएको हो।

‘आयोगलाई प्राप्त कार्यादेश अनुसार, घटनाका कारण, क्षति र प्रतिवेदनका लागि आवश्यक अध्ययन र राय सुझाव पेस गर्ने जिम्मेवारी मात्र दिइएको छ,’ प्रवक्ता शर्माद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।

यससँगै ओली र लेखकविरुद्धको जाहेरी पुनः जिल्ला प्रहरी परिसर काठमाडौंमै फिर्ता भएको छ।

पत्रसहित…