काठमाडौं । प्रतिनिधिसभामा विपक्षी दल श्रम संस्कृति पार्टी ले गरेको अवरोध अन्त्य भएको छ ।
सभामुख डोलप्रसाद अर्याल ले श्रम संस्कृति पार्टीलाई सदनमा बोल्न दिने प्रतिबद्धता जनाएपछि संसद्को गतिरोध हटेको हो ।
अहिले श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ ले प्रतिनिधिसभामा सम्बोधन गरिरहेका छन् । विपक्षी दलको हैसियतमा आफूहरूले पनि धारणा राख्न पाउनुपर्ने माग गर्दै श्रम संस्कृति पार्टीका सांसदहरूले संसद्को वेल घेराउ गर्दै नाराबाजी गरेका थिए ।
बुधबारको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाह को सीमा सम्बन्धी विवादित अभिव्यक्तिबारे परराष्ट्रमन्त्री शिशिर खनाल ले धारणा राखेका थिए । त्यसपछि नेपाली कांग्रेसका भीष्मराज आङ्देम्बे, एमालेका रामबहादुर थापा बादल, नेकपाका प्रमेश हमाल र राप्रपाका ज्ञानेन्द्र शाही ले आफ्नो धारणा राखेका थिए ।
तर, सभामुखले श्रम संस्कृति पार्टीको नाम बोल्ने सूचीमा नरहेको भन्दै समय नदिएपछि विवाद चर्किएको थियो ।


