धुलिखेल । काभ्रेपलाञ्चोकको डाँडापारिस्थित महाभारत गाउँपालिकामा केन्द्रीय प्रसारणको विद्युत् जडान भएपछि पालिका नै झिलिमिली भएको छ । वि. सं. २०७५ बाट विद्युतीकरण सुरु भएको महाभारतमा यही जेठ महिनाभित्र सम्पन्न भएको हो ।
गाउँपालिकालाई पूर्ण विद्युतीकरण घोषणा गर्ने तयारी भइरहेको गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बाले बताए । पालिकामा अहिलेसम्म तीन हजार चार सय ३० वटा मिटरबक्स वितरण भइसकेको र ती सबै घरमा बत्ती बलिसकेको जनाएको छ । आज बिहिबार ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले महाभारत गाउँपालिकालाई पूर्णविद्युतीकरण पालिका घोषणा गर्ने कार्यक्रम रहेको गाउँपालिका अध्यक्ष जिम्बाले जानकारी दिए ।
उनले भने, ‘अब हामी पूर्णविद्युतीकरण पालिका भइसकेका छौँ, वि. सं. २०७५ सालदेखि सुरु गरेको विद्युतीकरण वि. सं. २०७६ देखि कार्यान्वयनमा ल्याएको र हाल ती सबै कार्य पूरा गर्न सफल भएका छौँ ।’ विद्युत जोडिएपछि गाउँमा साना उद्योगसमेत सञ्चालनमा आएको उनले बताए ।
विद्युत जडान भएपछि यहाँका नागरिकले पिठो पिस्ने मिल, दूध मिल, चिस्यान केन्द्र तेल पेल्ने मिल र कफी सफा गर्ने मेसिनलगायतका साना घरेलु उद्योग सञ्चालनमा ल्याएका छन् ।