काठमाडौं । काठमाडौं र ललितपुर जिल्लाका विभिन्न स्थानमा आज ३ घण्टासम्म विद्युत् आपूर्ति अवरुद्ध हुने भएको छ ।
नेपाल विद्युत् प्राधिकरणका अनुसार डिस्ट्रिब्युसन लाइन भूमिगत गर्ने कार्यका भइरहेकोले पुलचोक डिस्ट्रिब्युसन सेन्टरको यूएन पार्क फिडरलाई बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्मका लागि बन्द गर्नुपर्ने भएको हो । सो अवधिमा शंखमुल, यूएन पार्क, शंखमुल टाउन प्लानिङ क्षेत्रमा विद्युत् आपूर्ति अवरुद्ध हुनेछ ।
त्यसैगरी, सडकको कल्भर्ट निर्माणका क्रममा परेको एचटी पोल सार्नका लागि जोरपाटी डिस्ट्रिब्युसन सेन्टरको साँखु फिडर बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म बन्द गर्नुपर्ने भएको छ । सो अवधिमा नयाँ पाटी, ब्रम्हखेल, इन्द्रायणी, साँखु, जर्सिङ पौवा र नांगलेभारेमा विद्युत् अवरुद्ध हुनेछ ।
निर्धारित समयभन्दा अघि काम सकिएमा तोकिएको समय अगावै सेवा सुरु हुने पनि प्राधिकरणले जनाएको छ । यसबाट पर्न गएको असुविधाको लागि प्राधिकरणले क्षमायाचना समेत गरेको छ ।