काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन शाहले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई गिरीबन्धु प्रकरण बारे अर्को कटाक्ष गरेको छ ।

सामाजिक सञ्जाल फेशबुकमा लेख्दै बालेनले बर्षाका कारण काठमाडौंमा मात्र लगभग दुई हजार परिवार प्रभावित भएको बताउदै तपाइले पचाउन खोजेको गिरीबन्धुमा यस्ता १५ हजार परिवारको व्यवस्थापन हुन सक्ने बताएको हो । उनले भनेका छन्- ‘काठमाडौंमा लगभग २ हजार परिवार खोला छेउमा बस्ने गरेका छन् । तपाईले पचाउँन खोज्नु भएको गिरिबन्धु’मा यस्ता १५ हजार परिवार व्यवस्थापन हुन सक्छ ।’

बालेनले ३० बर्षसम्म भोटको राजनिती गरेको आरोप लगाउदै अर्को ३० बर्ष पनि झुलाउने सोच बनाउनु भएको छ भन्दै प्रश्न गरेका छन् । उनले भनेका छन्- ‘अनि ठुलो दुर्घटना कुन दिन आउँछ भनेर कुर्दै बस्ने हो र हामी ? उहाँहरूको जीवनसँग खेलवाड गरेर भोटको राजनीति यसरी नै सँधै गरिरहने हो ? उहाँहरूलाई उचित ठाउँमा लगेर व्यवस्थापन गर्नेतर्फ सोच्ने कि उहाँहरूलाई जसरी ३० बर्ष झुलाइसक्नु भयो, अझै अर्को ३० बर्ष पनि झुलाउने सोच बनाउनु भएको छ ?’

बालेनले लेखेका छन् : 

माननीय केपी ओलीज्यू,

आज काठमाडौंमा केहि घण्टा पानी पर्दा खोला छेउ बस्ने धेरै डुबानमा परे । खोला बस्तीमा पसेको हैन, खोलाले आफ्नो बाटो खोजेको हो । आज एकदिन पानी पर्दा त यस्तो हालत छ, केही दिन लगातार पानी पर्दा के हालत हुने हो !

अनि ठुलो दुर्घटना कुन दिन आउँछ भनेर कुर्दै बस्ने हो र हामी ? उहाँहरूको जीवनसँग खेलवाड गरेर भोटको राजनीति यसरी नै सँधै गरिरहने हो ? उहाँहरूलाई उचित ठाउँमा लगेर व्यवस्थापन गर्नेतर्फ सोच्ने कि उहाँहरूलाई जसरी ३० बर्ष झुलाइसक्नु भयो, अझै अर्को ३० बर्ष पनि झुलाउने सोच बनाउनु भएको छ ?

काठमाडौंमा लगभग २००० परिवार खोला छेउमा बस्ने गरेका छन् । तपाईले पचाउँन खोज्नु भएको गिरिबन्धु’मा यस्ता १५००० परिवार व्यवस्थापन हुन सक्छ । अब त प्रधानमन्त्री नि बन्दै हुनुहुन्छ रे, त्यो पनि दुई तिहाई बहुमतसहित । अब यो समस्याको समाधान गर्नु हुनेछ भन्ने आशा लिएको छु ।