वार्ताबाट बाहिरिएको हमासको घोषणा

२ वर्ष अगाडि २ वर्ष अगाडि २ वर्ष अगाडि
एजेन्सी । इजरायली ‘नरसंहार’ र वार्तामा उसको मनोवृत्तिका कारण गाजाको युद्धविरामका लागि आयोजना गरिएको वार्ताबाट आफूहरू पछि हटेको हमासका एक वरिष्ठ अधिकारीले बताएको छ ।

हमासका अर्का एक अधिकारीले हमासका सैन्य नेता मोहम्मद देइफलाई लक्षित गरी आक्रमण गरे पनि उनी ‘सकुशल’ रहेको र इजरायलले गाजाको दक्षिणी शिविरमा व्यापक गोलाबारी गरिरहेको बताए ।

गाजाको स्वास्थ्य मन्त्रालयले शिविरमा भएको आक्रमणमा परी ९२ जनाको मृत्यु भएको जनाएको छ । हमासका राजनीतिक नेता इस्माइल हनियाले अन्तर्राष्ट्रिय मध्यस्थकर्ता कतार र इजिप्टलाई अमेरिकी राष्ट्रपति जो बाइडेनले मे महिनामा पहिलोपटक अघि सारेको युद्धविराम योजनामा वार्ता समाप्त भएको बताएका छन् ।

युद्धविराम योजनामा सम्झौताको पहिलो चरणमा इजरायली जेलमा रहेका प्यालेस्टिनी कैदीहरूका लागि अक्टोबर ७ मा इजरायलमाथि हमासले गरेको आक्रमणमा लिइएका अधिकांश बन्धकहरूको आदानप्रदानसहित ६ हप्ताको युद्धविराम हुने थियो ।

‘हमासले इजरायली गम्भीरताको कमी, ढिलासुस्ती र अवरोधको निरन्तर नीति र निहत्था नागरिकविरुद्ध जारी नरसंहारका कारण वार्ता रोक्नेछ,’ हनियाले भने, ‘हमासले सम्झौतामा पुग्न र आक्रामकता अन्त्य गर्न ठूलो लचकता देखाएको छ र जब इजरायल सरकारले युद्धविराम सम्झौता र कब्जा कैदी आदानप्रदान सम्झौतामा पुग्न गम्भीरता देखाउँछ तब वार्ता पुनः सुरु गर्न तयार छ ।’

हनियाले शनिबार अबेर एक वक्तव्य जारी गर्दै आफूले मध्यस्थकर्ता र अन्य देशलाई फोन गरेर आक्रमण रोक्न इजरायललाई दबाब दिन आग्रह गरेको बताएका छन् । इजरायलले अक्टोबर ७ मा भएको आक्रमणको ‘मास्टरमाइन्ड’मध्येका एक मानिएका देइफ दक्षिणी गाजाको अल-मावासी शिविरमा भएको आक्रमणको निशानामा रहेको बताएको छ । तर, हमासले भने देइफ शिविरमा रहेको पुष्टि नगरी उनी जीवित रहेको र काम गरिरहेको बताएको छ ।

‘कमान्डर मोहम्मद देइफले इजेदिन अल-कासम ब्रिगेड र प्रतिरोध अभियानको प्रत्यक्ष रेखदेख गरिरहनुभएको छ,’ हमासको सशस्त्र शाखालाई उद्धृत गर्दै ती अधिकारीले भने । गत अक्टोबर ७ मा दक्षिणी इजरायलमा हमासले गरेको आक्रमणमा परी करिब एक हजार २०० जनाको मृत्यु भएको इजरायलद्वारा पुष्टि गरेको तथ्यांकमा उल्लेख छ ।

हमास लडाकुले २५१ बन्धकलाई कब्जामा लिएकामा करिब सयजना रिहा भइसकेको, ११६ जना गाजामा रहेको र ४२ जनाको मृत्यु भइसकेको इजरायली सेनाले जनाएको छ । हमास आक्रमणको बदलामा इजरायलले जवाफी कारबाही सुरु गरेको र गाजामा कम्तीमा ३८ हजार ४४३ जनाको मृत्यु भएको हमासको नियन्त्रणमा रहेको स्वास्थ्य मन्त्रालयको तथ्यांकमा उल्लेख छ।

 

रासस/एएफपी