काठमाडौं । नेपाल सरकारले नेपाललाई सूचना प्रविधि हबको रुपमा विकास गर्ने घोषणा गरेको छ । सरकारले सूचना प्रविधि क्षेत्रबाट १० वर्षमा ३० खर्बको निर्यात गर्ने लक्ष्य लिएको हो ।

facebook sharing button

मंगलबार प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा अर्थमन्त्री वर्षमान पुनले पेश गरेको आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट वक्तव्यमा सूचना प्रविधि क्षेत्रमा १० वर्षमा ५ लाख जनालाई प्रत्यक्ष र १० लाख जनशक्तिलाई अप्रत्यक्ष रोजगारी दिने लक्ष्य लिएको छ ।

आगामी वर्षलाई सूचना प्रविधि दशकको प्रस्थान वर्षका रुपमा अघि बढाउनुको साथै सूचना प्रविधि क्षेत्रलाई अर्थतन्त्रको संवाहक क्षेत्रका रुपमा विकास गर्ने उल्लेख गरिएको छ । कृत्रिम बौद्धिकताको विकास र नियमन गर्ने, डिजिटल नेपालको फ्रेमवर्कमा परिमार्जन गरेर कार्यान्वउयन गर्न संस्थागत व्यवस्था गर्ने पनि बजेटमा उल्लेख छ । यसका लागि ५९ करोड विनियोजन गरिएको अर्थमन्त्री पुनले जानकारी दिएका छन् ।

अर्थमन्त्री पुनले काठमाडौं र बुटवलमा सूचना प्रविधि पार्क सञ्चालन गर्ने र ३ वर्षका लागि त्यस्ता पार्कमा वर्क स्टेसन निःशुल्क उपलब्ध गराउने घोषणा गरेको छ । यस्तो पार्कका लागि सार्वजिक र निजी साझेदारीमा काठमाडौंको डिल्लीबजारको चारखालमा बहुतले भवन बनाउने पनि घोषणा गरेको छ । ललितपुरको खुमलटारमा ज्ञानपार्क निर्माणकाका लागि १७ करोड रकम विनियोजन समेत गरेको छ ।

सरकारी डेटा सेन्टरको स्तरीकरण, सूचना प्रविधिमा स्नातक र स्नातकोत्तर गर्नेलाई इन्टर्नको व्यवस्था गर्ने पनि बजेट वक्तव्यमा उल्लेख गरिएको छ ।