तस्बिर : बीबीसी 

एजेन्सी । युक्रेनले एफ-१६ लडाकु विमान प्राप्त गरेको युक्रेनी राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीले बताएको छ । ‘एफ-१६ युक्रेन आइपुग्यो, हामीले ल्याइछाड्यौँ ।’, जेलेन्स्कीले गुप्त स्थानमा जेटका अगाडि आयोजित समारोहमा भने ।

१८ महिनाको प्रतीक्षापछि सो लडाकु विमान प्राप्त गर्न सहयोग गरेको भन्दै उनले डेनमार्क, नेदरल्यान्ड्स र अमेरिकालाई धन्यवाद दिए । तर, थप विमानको आवश्यकता भएको उनको भनाइ छ । नयाँ विमानले युक्रेनको पुरानो वायु सेना र हवाई प्रतिरक्षामा ठूलो सहयोग पुग्ने अपेक्षा गरिएको छ । तर, जेलेन्स्कीले कतिवटा विमान आइपुगेको हो, त्यो भने खुलाएनन् । नेटो मुलुकहरुले युक्रेनलाई करिब ६५ वटा एफ-१६ दिने वाचा गरेका छन् ।

एफ-१६ सन् १९७८ मा निर्माण भएको विमान हो । पुरानो भएकाले थुप्रै पश्चिमा मुलुकहरु यसलाई सेवाबाट हटाउने तयारीमा छन् । पछिल्लो समय एफ-३५ ले त्यसलाई विस्थापित गर्दैछन् । तर, यो विमानलाई रुसी आक्रमणबाट बचाउन युक्रेनलाई कठिन पर्नसक्ने कतिपयको विश्लेषण छ ।