ढाका । बंगलादेशमा भड्किएको सरकार विरोधी प्रदर्शनमा प्रहरी र प्रदर्शनकारीबिच झडप हुँदा कम्तीमा ७६ जनाको मृत्यु भएको छ । बंगलादेशका विद्यार्थी संगठनहरूले सरकारी जागिरमा आरक्षणको विरोध गरिरहेका छन् । विद्यार्थी नेताहरूले प्रधानमन्त्री शेख हसिनालाई राजीनामा दिन माग गर्दै सविनय अवज्ञा आन्दोलनको घोषणा गरेका हुन् ।

प्रहरीका अनुसार सिराजगञ्ज जिल्लाको एक प्रहरी चौकीमा हजारौँ मानिसले आक्रमण गर्दा १३ प्रहरी अधिकारीको मृत्यु भएको थियो । बंगलादेशमा गत महिनादेखि सरकारी जागिरमा कोटा खारेज गर्न माग गर्दै विद्यार्थी आन्दोलन भइरहेको थियो । तर अहिले यो व्यापक सरकार विरोधी आन्दोलनमा परिणत भएको छ ।

आइतबार देशका विभिन्न भागमा यस्ता विरोध प्रदर्शन भएका छन् । प्रदर्शनकारीलाई तितरबितर पार्न प्रहरीले अश्रुग्याँस र रबरको गोली प्रहार गरेको थियो । यसका साथै देशमा रात्रि कर्फ्यु पनि लगाइएको छ । यी प्रदर्शनमा अहिलेसम्म करिब २ सय जना घाइते भएका छन् ।

स्थानीय समय अनुसार आइतबार राति ६ बजेदेखि देशभर कर्फ्यु लागू गरिएको छ । राजधानी ढाकामा मोबाइल इन्टरनेट बन्द गरिएको छ ।