ढाका । एक महिनाअघि मात्र जर्नेल वकर उज जमान बंगलादेशको सेनाप्रमुख बनेका थिए । सोमबार प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएर देश छाडेको जर्नेल जमानले घोषणा गरे ।

१५ वर्ष निरन्तर सत्ता चलाएकी हसिनाको शासन पतन भएको खबर दिन राष्ट्रसामु उभिएसँगै यी जर्नेल चर्चाको शिखरमा पुगेको छ । अझ यसले आउँदा दिनमा उनी राज्यको मियो बन्ने संकेत गरेको कतिपयको बुझाइ रहेको छ । तर, जर्नेल जमानले अब सबै पक्षसँग सल्लाह गरेर अन्तरिम सरकार गठनको प्रक्रिया सुरु गरिने बताए । त्यसमा सेनाको भूमिका हुन्छ कि हुँदैन, अझै स्पष्ट छैन ।

५८ वर्षीय जर्नेलले सेनाप्रमुखको पद जुन २३ मा सम्हालेका थिए । आगामी तीन वर्ष उनी सो पदमा रहनेछन् । ढाकामा १९६६ मा जन्मेका उनले सराहनाज कमलिका जमानसँग विवाह गरेको छ । जो १९९७ देखि २००० सम्म सेनापति रहेका जर्नेल मुहम्मद मुस्ताफिजुर रहमानकी छोरी हुन् ।

नेसनल युनिभर्सिटी अफ बंगलादेशबाट डिफेन्स स्टडिजमा मास्टर्स गरेका हुनले लन्डनस्थित किङ्स कलेजमा पनि अध्ययन गरेका छन् । सेनाप्रमुख हुनुअघि करिब ६ महिना उनी चिफ अफ जेनरल स्टाफ थिए ।

साढे तीन दशक लामो सैन्य करिअरमा उनले हसिनासँग निकट रहेर पनि काम गरेका थिए । उनी प्रधानमन्त्री कार्यालय अन्तर्गतको आर्म्ड फोर्सेज डिभिजनको प्रमुख स्टाफ अफिस थिए ।