काठमाडौं । दक्षिण कोरियाली प्रहरीले चिनियाँ विद्यार्थीले अमेरिकी लडाकु विमानवाहक युद्धपोतको फोटो खिचेको घटनामा अनुसन्धान शुरु गरेको छ ।

दक्षिण कोरिया भ्रमणमा आएको अमेरिकी लडाकु विमानवाहक युद्धपोत यूएसएस थियोडोर रुजबेल्टको ड्रोनमार्फत् फोटो खिचेको भन्दै चिनियाँ विद्यार्थीमाथि अनुसन्धान थालिएको हो ।

दक्षिण कोरियाली जुङआङ दैनिकले बुसान शहरको बन्दरगाहमा रोकेर राखिएको उक्त यु्द्धपोतको फोटो खिचेको भन्दै चिनियाँ नागरिकविरुद्ध अनुसन्धान अघि बढाएको हो । उक्त युद्धपोत अमेरिकी, जापानी र दक्षिण कोरियाली नौसेनाले आयोजना गरेको त्रिपक्षीय अभ्यासमा सहभागी हुन दक्षिण कोरिया पुगेको जनाइएको छ ।

युद्धपोतको फोटो खिचेका चिनियाँ नागरिकहरुले भने कौतुहलताका कारण आफूहरुले ड्रोन उडाएको बताएको छ । दोषी ठहर भएको खण्डमा उनीहरुलाई तीन वर्षको कैद सजाय वा ३ करोड दक्षिण कोरियाली वन अर्थात् झण्डै २१ हजार ७ सय अमेरिकी डलर बराबर जरिवाना हुने जनाएको छ ।