एजेन्सी । इजरायलले शनिबार एक विद्यालयलाई लक्षित गरी गरेको हवाई आक्रमणमा ९३ जनाको मृत्यु भएपछि संयुक्त राष्ट्रसंघद्वारा नियुक्त एक मानव अधिकारविज्ञले गाजा युद्धमा इजरायलले व्यापक ‘नरसंहार’ गरेको आरोप लगाएको छ ।

‘इजरायलले एउटा अस्पताल, विद्यालय र शरणार्थी शिविरमा आक्रमण गर्दा ठूलो मानवीय क्षति भएको र अधिकांश महिला, बालबालिका र सर्वसाधारण हताहत भएका छन्’, प्यालेस्टिनी भूभागमा अधिकारको स्थितिसम्बन्धी संयुक्त राष्ट्रसंघका विशेष प्रतिवेदक फ्रान्सेस्का अल्बानिसले सामाजिक सञ्जाल एक्समा भनेका छन् ।

इजरायलले ‘अमेरिकी र युरोपेली हतियार’ प्रयोग गरेर प्यालेस्टिनीविरुद्ध यस्तो आक्रमण गरिरहेको अल्बानिसले बताए । उनले भने, ‘प्यालेस्टिनीहरूले उनीहरूको रक्षाका लागि अधिकारवादी समूहले खेल्नुपर्ने भूमिकामा सामूहिक अक्षमताका लागि हामीलाई क्षमा गरून् ।’

गत मार्चमा जारी गरिएको एक रिपोर्टमा अल्बानिसले गाजामा इजरायलले आफ्नो युद्धमा ‘नरसंहार’ का थुप्रै कार्यहरू गरेको पुष्टि गर्ने ‘उचित आधार’ रहेको बताएका थिए । लामो समयदेखि अल्बानिस र उनको जिम्मेवारीको अत्यधिक आलोचना गर्दै आएको इजरायलले रिपोर्टलाई ‘वास्तविकतालाई छायाँ पार्ने काम’ का रूपमा निन्दा गर्दै आएको छ ।

इजरायलमा ७ अक्टोबरमा हमास समूहले गरेको आक्रमणको बदलामा गाजापट्टीमा १० महिना लामो सैन्य कारबाही चलाउँदै आएको इजरायलमाथि हमासले गरेको आक्रमणको पनि उनले निन्दा गर्दै आएका छन् । विशेष दूतहरू संयुक्त राष्ट्रसंघीय मानव अधिकार परिषद्वारा नियुक्त भएका स्वतन्त्र पर्यवेक्षक हुन् । (रासस/एएफपी)